भैरहवा । तालिममा सहभागी गराउने भनेर बोलाएकी युवतीलाई होटेलमा पुर्याएर सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तीन युवकलाई पक्राउ गरेको छ । डेढ साताअघि गाउँकै तीन व्यक्तिले ती किशोरीलाई तालिममा सहभागी गराउने भन्दै होटलमा पुर्याएको प्रहरीले जनाएको छ ।
झुक्याएर होटलमा पुर्यााएपछि बन्धक बनाएर तीन जनाले बलात्कार गरेको युवतीका आफन्तले बताएका छन् । शनिबार पीडितको जाहेरी प्राप्त भएपछि आरोपित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मनोहर भट्टले जानकारी दिए । ‘पीडितलाई जिल्ला प्रहरी बोलाएका छौं, थप बुझेर घटनास्थल यकिन गरेपछि कारबाही थाल्छौं’, उनले भने ।
भदौ ५ गते कोटहीमाई–६, का मनोहर चौधरी (कुर्मी) ले तालिममा सहभागी गराउने भन्दै युवतीलाई मोटरसाइकलमा राखेर होटेलमा पुर्याएको स्थानीयले जानकारी दिएका छन् । त्यसपछि भैरहवा नजिकै बनगाईमा रहेका कोटहीमाई–५, का मुकेशकुमार चौधरी (कुर्मी) र कोटहीमाई–३, का शैलेशकुमार पाण्डे पनि उक्त होटेलमा पुगेका थिए । युवतीका आफन्तले ती युवाले लुम्बिनीको एक होटेलमा पुर्याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएका छन् ।
होटेलमा पुर्याएपछि अरु सहभागी नदेखेर युवतीले घर फर्किने भनेपछि युवाहरूले अन्य सहभागी आउँदै भनेर रोकेको युवतीका आफन्तले बताए । भदौ ६ गते बिहान मुकेशले नै युवतीलाई गाउँ नजिक ल्याएर छाडेका थिए । लोकलाजले घटना लुकाएको जानकारी दिंदै कोटहीमाईका एक स्थानीयले भने, ‘दुई दिनअघि मात्रै गुप्ताङ्गबाट धेरै रगत बगेपछि घटना खुल्यो, अहिले युवतीको उपचार गराइएको छ ।’
घटना खुलेपछि युवतीका दाइले मुकेशलाई भेट्न बोलाएका थिए । त्यसक्रममा आरोपितमाथि कुटपिट भएको थियो ।त्यसपछि अन्य दुई जनाको सहभागिताबारे खुलेको ती व्यक्तिले बताएका छन् । स्थानीयका अनुसार मनोहर कोटहीमाई गाउँपालिकाका शिक्षा प्राविधिक सहायक हुन् ।