विद्यालय तहमा पढ्ने अहिलेका विद्यार्थीहरू आफ्नो घर, विद्यालय, समाज र इष्टमित्रबाट सधैं उत्कृष्ट हुन मनोवैज्ञानिक दबाबमा पर्ने गरेका छन्। उनीहरूमाथि परीक्षामा राम्रो नतिजा ल्याउनुपर्ने, राम्रो कलेजमा भर्ना हुनुपर्ने र कहिल्यै कुनै गल्ती गर्न नहुने र दबाब हुन्छ।
उत्कृष्ट नतिजाका लागि प्रधानाध्यापक, शिक्षक र अभिभावक विद्यार्थीको मानसिकतासँग खेलिरहेका हुन्छन्। विद्यार्थीलाई दबाबमा पारिरहेका हुन्छन्। केही सकारात्मक दबाबले काम गर्न उत्प्रेरित गर्छ, उत्प्रेरणा आवश्यक पर्छ तर अत्यधिक दबाबले विद्यार्थीको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ।
उत्प्रेरणाका नाममा दबाब सिर्जना भएको हुन सक्छ। उत्प्रेरणा र दबाब एउटै होइन। विद्यालय प्रशासन (प्रधानाध्यापक), शिक्षक र अभिभावकले यो तथ्य थाहा पाउन आवश्यक छ।
हाम्रा विद्यार्थीहरू दैनिक कम्तीमा ६ घन्टा विद्यालयमा बिताउँछन्। कोचिङ वा यस्तै अतिरिक्त कक्षा पनि हुन सक्छ। यस अवस्थामा उनीहरू ११-१२ घन्टासम्म पनि विद्यालयमा बिताउँछन्।
विद्यार्थीले हरेक विषयको गृहकार्य पाएको हुन्छ। एउटा विषय पढाउने शिक्षकलाई आफूले दिएको गृहकार्य थोरै जस्तो पनि लाग्न सक्छ तर विद्यार्थीले त सबै विषय (सातवटा) को पाएको हुन्छ।
एउटा विषयको गृहकार्य गर्न एक घन्टा लाग्यो भने थप सात घन्टा पढाइको काम हुन्छ। यस्तो भएपछि विद्यार्थीले गृहकार्य पूरा नगर्न सक्छ अनि नगरेकोमा सजायको भागी हुन सक्छ। गृहकार्य नगरेको रिपोर्ट अभिभावककोमा पुग्न सक्छ, प्रधानाध्यापककोमा पुग्न सक्छ।
यो परिवेशमा विद्यार्थी चर्को दबाबमा परेको हुन्छ।
गृहकार्यले मानसिक दबाब सिर्जना गर्ने पनि पढाइमा लगनशील विद्यार्थीमाथि नै हो। मेरो १५ वर्षजतिको अनुभवले पढाइमा खासै रूचि नभएका र औसतभन्दा कम सिकाइस्तर भएका विद्यार्थी गृहकार्यमा बहानाबाजी गर्छन्।
यस्ता विद्यार्थीले जानिनँ, भ्याइनँ, बिर्सेछु, कापी छुटेछ इत्यादि बहाना गर्छन्। कहिलेकाहीँ त गृहकार्य नगरेबापत एकदुई झापड पनि पाउँछन्। गृहकार्यको अत्यधिक दबाब भएपछि कतिपय विद्यार्थीहरू बरु सजाय सहनु नै सजिलो ठान्दा रहेछन्।
यस्तो मानसिक दबाबमा परेको विद्यार्थीले राम्ररी सिक्न सक्दैन, सिक्नुपर्ने जति सबै सिक्दैन। अब्बल विद्यार्थीले कुनै उचित कारणले गृहकार्य पूरा गर्न सकेन र कक्षामा सजाय पायो भने उसको मानसिकतामा कस्तो प्रभाव पर्ला! एकै छिन सोचौं त!
विद्यालय तहका विद्यार्थीहरू परीक्षामा राम्रो नतिजा ल्याएर अभिभावक र शिक्षकलाई खुसी पार्ने दबाबमा हुन्छन्। यस्तो अवस्थामा विद्यार्थीहरू तनाव, चिन्ता र डिप्रेसनको सिकार हुन सक्छन्।
पढाइ र उत्कृष्ट नतिजाको अनुचित दबाबले विद्यार्थीहरूमा निम्न समस्याहरू देखिन सक्छन्–
मनमा सधैं चिन्ता र डर भइरहने
पढाइको अत्यधिक दबाबले विद्यार्थीहरूमा सधैं एक किसिमको चिन्ता र डरको भाव उत्पन्न हुन्छ। हरेक दिन गृहकार्य, प्रोजेक्ट र परीक्षाको चिन्ता हुन्छ।
विद्यार्थीले धेरै महत्त्वपूर्ण परीक्षा दिनुपरेको समयमा लगातार चिन्ता र डरको सामना गर्नुपरेको हुन्छ। यस अवस्थाले उसको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ। अधिक दबाबका कारण विद्यार्थीहरूले आत्मसंयम र आत्मविश्वास गुमाउने सम्भावना हुन्छ।
मन तनावग्रस्त भएपछि दैनिक जीवनका अन्य क्रियाकलापमा पनि ध्यान दिन गाह्रो हुन्छ। खेलकुद, संगीत वा सामाजिक गतिविधिमा संलग्न हुन नसक्ने हुन सक्छन्। पढाइ र उत्कृष्ट नतिजाको अधिक दबाबले गर्दा साथीहरूसँग समय बिताउन वा मनोरञ्जनात्मक गतिविधिहरूमा समय नपुग्ने हुन्छ।
यसले मानसिक स्वास्थ्यमा झन् बढी नकारात्मक प्रभाव पार्न सक्छ।
निद्रा कम हुने
पढाइको अत्यधिक दबाबले निद्राको गुणस्तरमा असर पर्न सक्छ। निद्रा पातलो हुन सक्छ। बिस्तारै अनिद्राको समस्या देखापर्न सक्छ।
गृहकार्यको भारी, परीक्षा तयारी र परियोजना कार्यले राति धेरै अबेरसम्म लाग्नुपर्दा सुत्ने तालिकामा गडबडी भई निद्राको समस्या हुन सक्छ।
यस्तो अवस्थामा कक्षाकोठामा आलस्य हुने र सिकाइमा ध्यान केन्द्रित नहुने समस्या हुन्छ। यसो भएपछि सिकाइमा असर पर्छ। परीक्षाको नतिजा झन् खराब हुन सक्छ।
निद्रा पूरा नभएपछि थकान महसुस हुने र एकाग्रता नहुने हुन्छ। यस्तो अवस्थामा स्मरण शक्ति कमजोर हुँदै जाने हुन्छ। सिर्जनात्मक क्षमतामा ह्रास हुन्छ।
थकान र कमजोरी महसुस हुने
निद्रा ठिकै रहेको अवस्थामा पनि नियमित पढाइको र उत्कृष्ट नतिजाको दबाबले विद्यार्थीहरूलाई लगातार थकान र कमजोरी महसुस हुन सक्छ।
दिनहुँ गृहकार्यको बोझले मानसिक थकान उत्पन्न हुन्छ। सँगै शारीरिक थकान महसुस भई शरीरमा फूर्ति पनि घट्छ। आलस्य देखापर्छ। शारीरिक व्यायाम र मनोरञ्जनमा पनि ध्यान नजाने हुन्छ।
यसरी थकित विद्यार्थी कक्षा कोठामा पनि सक्रिय हुन सक्दैन। उसको सहभागिता घट्छ। सक्रिय सहभागिताबिनाको सिकाइ कमजोर हुन्छ, त्यसले उत्कृष्ट नतिजा दिन सक्दैन।
पेट दुख्ने, टाउको दुख्ने
नियमित पढाइको र उत्कृष्ट नतिजाको अधिक दबाबले विद्यार्थीको शारीरिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्न सक्छ जसले गर्दा पेट दुख्ने र टाउको दुख्ने समस्या देखा पर्छ।
लगातारको मानसिक तनाव र चिन्ताले यस्तो शारीरिक लक्षण देखापर्ने हुन्छ। कतिपय विद्यार्थीमा परीक्षा नजिकै आउँदै गर्दा यस्तो समस्या बढी देखिन्छ।
आफूलाई कमजोर ठान्ने
उत्कृष्ट नतिजाको दबाबले विद्यार्थीको आत्मविश्वासमा नकारात्मक प्रभाव पर्छ जसले गर्दा आफूलाई कमजोर र अयोग्य ठान्ने समस्या देखापर्छ। विद्यार्थीको शैक्षिक प्रदर्शनी कमजोर हुन्छ। यसो भएपछि स्वतः नतिजामा गम्भीर नकारात्मक प्रभाव पर्छ।
विद्यार्थीले असफलताको डरले आफूलाई कमजोर महसुस गर्न सक्छ। अभिभावक र शिक्षकसँग डराउने, खुलेर कुरा नगर्ने, सहपाठी साथीभन्दा कमजोर महसुस गर्ने र चिन्तित जस्तो देखिने हुन्छ।
आफूलाई कमजोर ठानेपछि कहिलेकाहीँ विद्यार्थीको आत्मसंयममा पनि असर पर्छ र सानो मामिलामा पनि झडंग रिसाउने, झगडा गर्न अघि सर्ने हुन सक्छ।
समाधानका उपायहरू
अत्यधिक गृहकार्यका साथ पढाइ र उत्कृष्ट नतिजाको दबाबले विद्यालय तहका विद्यार्थीमा देखापर्ने उल्लिखित समस्या समाधानमा मुख्य सरोकारवाला तीन पक्ष प्रधानाध्यापक, विषय शिक्षक र अभिभावकको भूमिका हुन्छ।
१. तीनै पक्षले विद्यार्थीको आत्मविश्वास बढाउने काम गर्नुपर्छ। सकारात्मक प्रोत्साहनका उपायहरू खोज्नुपर्छ। ससाना सफलताको प्रशंसा गर्दै थप सफलताका लागि प्रेरित गर्नुपर्छ।
एकपटकको असफलता नै सबै असफलता होइन, अर्कोपटक सफल हुन सकिन्छ भन्ने प्रेरणा दिनुपर्छ। यसले विद्यार्थीको आत्मविश्वास बलियो बनाउन मद्दत गर्छ।
२. अधिक दबाबले सिर्जना भएको मानसिक स्वास्थ्य समस्या समाधानमा उल्लिखित तीनै पक्षले ध्यान पुर्याउनुपर्छ। विद्यार्थीलाई आवश्यक मनोवैज्ञानिक परामर्श उपलब्ध गराउनुपर्छ।
आवश्यकताअनुसार आरामको व्यवस्था मिलाउनुपर्छ। शारीरिक र मानसिक दुबै किसिमको स्वास्थ्यका लागि आवश्यक निद्रा, मनोरञ्जन, खेल र अन्य सामूहिक गतिविधिका लागि समय मिलाइदिनुपर्छ।
३. शिक्षकले आफ्नो विषय मात्र सोचेर गृहकार्य दिने नभई सबै विषय सोच्नुपर्छ। गृहकार्यमा भन्दा बढी जोड कक्षा कार्यमा दिनुपर्छ। सबै विषयहरूको गृहकार्यमा सन्तुलन मिलाउन प्रधानाध्यापकले समन्वय गर्न सक्छन्।
विषय शिक्षकले गृहकार्य दिँदा पाठ्यपुस्तक हेरेर खुरूखुरू गर्ने खालको भन्दा पनि खोजमा आधारित हुने खालको दिने अभ्यास गर्नुपर्छ। यसो गर्दा विद्यार्थीमा सिर्जनशीलता बढ्छ।
४. आवश्यकताअनुसार आराम र नियमित शारीरिक व्यायामका लागि अभिभावकले ध्यान दिनुपर्छ। सन्तुलित आहाराको व्यवस्था गर्नुपर्छ। अभिभावकले समय समयमा प्रधानाध्यापक र विषय शिक्षकसँग भेटेर छलफल र परामर्श गर्नुपर्छ।
५. विद्यार्थीमा नियमित पढाइ, परीक्षा र उत्कृष्ट नतिजाको दबाबले मानसिक स्वास्थ्य ममस्या देखापरेको अवस्थामा प्रधानाध्याक र विषय शिक्षकले अभिभावकसँग समन्वय गरी समाधानका उपायहरू पहिल्याउनु पर्छ।
६. प्रधानाध्यापक र विषय शिक्षकले विद्यार्थीले आफ्नो समस्या खुलेर भन्न सक्ने वातावरण दिनुपर्छ।
७. प्रधानाध्यापक र विषय शिक्षकले विद्यार्थीसँग व्यक्तिगत र सामूहिक छलफल गरेर समस्या सुन्नुपर्छ र समाधान पहिल्याउनुपर्छ।