काठमाडौँ । हिजोआज हामीहरूमध्ये अधिकांश इयरबड्सको प्रयोग गर्छौँ । तर यी इयरबड्स हाम्रो कानका लागि खतरनाक हुन सक्छन् भन्ने कुरा चाहिँ धेरै जनालाई थाहा नहुन पनि सक्छ । तर इयरबडको अत्यधिक प्रयोगले कानमा हानी पुर्याउँछ भन्ने कुरा साँचो हो ।
लामो समयसम्म वा नियमित रूपमा यसको प्रयोगले सुन्न सक्ने क्षमतालाई त नोक्सान गर्छ नै कानको भित्री हिस्सामा इयरवाक्स जम्मा भएर शरीरकै लागि समेत खतरनाक साबित हुन सक्छ । आजको यस लेखमा हामीहरू इयरबडस्को अत्यधिक प्रयोगले हुन सक्छ समस्या/खतराहरू बारे कुराकानी गर्नेछौँ ।
टाउको दुखाइ–
घण्टौँसम्म लगातार इयरबड प्रयोग गर्दा टाउको दुख्न थाल्छ । टाउको दुख्ने मात्रै होइन माइग्रेनको समस्या पनि देखिन सक्छ ।
निद्रा–
इयरबडको धेरै प्रयोगले निद्रामा पनि नराम्रो असर गर्छ । यसले अनिद्रा वा स्लीप एपनिया जस्ता समस्याहरू निम्त्याउन सक्छ ।
सुन्न सक्ने क्षमता–
इयरबडको प्रयोगले श्रवण क्षमतामा ठुलो हानी पुर्याउँछ । लगातार चर्को स्वरमा गीत सुन्दा सुन्न सक्ने क्षमता कम हुँदै जान्छ ।
कानमा फोहोर जम्मा हुन्छ–
लगातार इयरबडको प्रयोगले कानमा इयरवाक्स जम्मा हुन थाल्छ । यो फोहोर कानको गहिराइसम्म पुगेर क्षति पुर्याउँछ ।
रक्त प्रवाह–
इयरबडका कारण कानको रगत प्रवाह पनि नराम्ररी प्रभावित हुन्छ । त्यसैले राती सुत्दा सकेसम्म इयरबड लगाउनबाट जोगिनुस् । यसो गर्दा कानमा ठुलो समस्या निम्तिन सक्छ ।
मुटु–
इयरबडले मुटु रोगको जोखिम पनि निम्त्याउँछ । घण्टौँसम्म हेडफोन लगाएर चर्को आवाजमा गीत सुन्दा मुटुमा प्रत्यक्ष असर पर्छ । यसका कारण मुटुको धड्कन बढ्छ र ठुलो नोक्सानी हुन सक्छ ।
कति समयसम्म प्रयोग गर्ने इयरबड ?
तपाईँले घण्टौँ इयरबड प्रयोग गर्नुहुन्छ ? यस्तो गर्नु हुन्छ भने विज्ञहरूका अनुसार तपाईँले तुरुन्तै आफ्नो दिनचर्या परिवर्तन गर्न जरुरी छ । दिनभरमा ६० मिनेटभन्दा बढी समय इयरबडको प्रयोग गर्नु हुँदैन । साथै यसमा आवाज पनि सकेसम्म कम बनाएर सुन्नुहोस् ।