धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ कुमरौढास्थित महावीर साह परिवारमा बज्रपात परेको छ । महावीर साहका बुबा जुगेश्वर साहको निधन भएकाले गत बुधबार संस्कारको अन्तिम दिन उनको घर छेउकै पोखरीको फराकिलो डिलमा ७ गाउँका हजारौँ जना भोज खान जम्मा भएका थिए । उक्त भोजमा उनका परिवारजन र नातेदार पनि जम्मा हुनु स्वभाविक नै थियो ।
भोजका कारण महावीर साहको बुहारीको अन्य २ दिदीबहिनीहरू क्रमशः धनुषाको सबैला र चौलिख्खाबाट पनि बालबच्चासहित त्यहाँ आएका थिए । तर, तिनै जनाको १–१ सन्तान (छोराहरू)को भोजस्थलसँगै रहेको पोखरीमा डुबेर दुःखद् मृत्यु भयो । सो घटनापछि परिवार र गाउँ शोकमा छन् । महावीरको छोरा दिलीप साहको जेठो छोरा ११ वर्षीय आयुस साहसहित १० वर्षीय आदित्यकुमार साह र १४ वर्षीय सुशान्त साह गरी ३ जना बालकको सो दुर्घटनामा मृत्यु भयो ।नातामा मृतक तिनै जना बालक माहावीर परिवारको नाती पर्दछन् । त्यसपछि पनि धनुषामा थप १ पुरुषको डुबेर मृत्यु भइसकेको छ । यो त एक उदाहरण घटना मात्र हुन यी ३ जना बालकहरूसहित मधेस प्रदेश प्रहरीको कार्यालयको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको महिना साउन र २२ भदौसम्म मात्र ५० जनाको डुबेर मृत्यु भएकोमा ३९ जना बालबालिका छन् ।
मधेस प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मात्र १ महिना २२ दिन (शनिबार सम्ममा) ५० जनाको मृत्यु भएको छ । जसमा धनुषामा सर्वाधिक १३ जनाको मृत्यु भएकोमा ९ बालबालिका ३ पुरुष र १ महिला छन् । त्यसैगरि महोत्तरीमा ७, सप्तरीमा ७ र रौतहट तथा सर्लाहीमा ६÷६ जनाको डुबेर मृत्यु भएको छ ।
गत आर्थिक वर्षमा १८५ जनाको मृत्यु
प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा मधेसमा डुबेर १८५ जनाले ज्यान गुमाएका छन् । जसमा बालबालिका १२४, पुरुष ४७ र महिला १४ जना छन् । सो एक वर्षमा सबैभन्दा बढी सप्तरीमा ३६, धनुषा ३१, रौतहट ३० र सर्लाहीमा २६ जनाको मृत्यु भएको देखिन्छ । सबै जिल्लाहरूको तथ्यांक हेर्दा अधिकांश बालबालिकाले ज्यान गुमाएका छन् । मधेस प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता सुवास चन्द्र बोहराका अनुसार घटनाहरू समग्रमा हेर्दा मानवीय त्रुटी, वर्षातको समयमा पोखरीमा जाने पौडी खेल्ने, माछा मार्ने, अभिभावकको पहुँच र सम्पर्कबिना यस्ता प्रयास गर्ने, स्थानीयतहले विकास निर्माणका क्रममा खाल्डाहरू खन्ने र त्यसमा पानी जमेर जोखिम पनि छ भन्ने कुराको जानकारी अभावमा घटना हुने गरेको छ ।
किन रोकिएन क्रम?
प्रदेश सरकारदेखि प्रहरी र अभियानकर्मीसम्मले डुबेर हुने मृत्युका घटना नरोकिनुमा कुनै एउटा पक्ष मात्र जिम्मेवार नरहेको बताउने गरेका छन्।
त्यस्ता घटना बारम्बार हुनुमा जनचेतनाको कमी प्रमुख कारण रहेको प्रहरी अधिकारीहरू बताउँछन्।
मधेश प्रदेशमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था माण्डवीकी कार्यकारी निर्देशक अञ्जु झा त्योसँगै अरू पनि केही कारण रहेको बताउँछिन्।
रौतहटमा सुत्केरी बेथाले च्यापेकी एक महिलासहित आठजना सवार एम्बुलेन्स बाढीले बाटो कटान गरेको ठाउँमा डुब्दा सबै जनाको ज्यान गएको घटना उनी स्मरण गर्छिन्।
झाका अनुसार बाढीले बगाएर वा डुबाएर हुने मृत्युभन्दा त्यसपछि खासगरी बालबालिका डुबेर हुने मृत्युको घटना धेरै भएका देखिन्छ।
“पानीसँग दिनचर्या जोडिएको पृष्ठभूमिमा बालबालिका नदी, पोखरीमा एक्लै नुहाउन जाने गरेका हुन्छन्। यसमा अभिभावकहरूको कमजोरी पनि हो,” उनले भनिन्।
“तर त्योभन्दा बढी व्यवस्थित विकास नहुनु ठूलो कारण हो। विकासका नाममा धेरैतिर खन्नु र नपुरीकन त्यसै छोडिनुले पनि यस्ता घटना हुने गरेका छन्।”
कतिपय अवस्थामा ठेकेदारहरूले खाल्डा नपुरी त्यसै छाड्दा त्यसमा डुबेर बालबालिकाको ज्यान जाने गरेको भए पनि ती घटना प्रहरीसम्म जान नपाएको पनि उनी दाबी गर्छन्।
“त्यो त एक प्रकारको हत्या नै हो नि। तर मेलमिलापमै घटना सामसुम पारिन्छ,” घटना बारम्बार भइरहनुको एउटा कारणबारे झाले थपिन्।
'सजगता अपनाएको देखिएन'
मधेशका जिल्लामा रहेका पोखरी, तलाउको संरक्षण उपयुक्त ढङ्गले नभएर पनि समस्या दोहोरिने गरेको अर्की एक अभियानकर्मी रीता साह बताउँछिन्।
मधेशमा हुने सबैजो पोखरीहरू खुला हुन्छन्, त्यसमा छिर्न नमिल्ने हिसाबले छेकबार हुँदैन।
साहका अनुसार त्यसरी डुबेर मृत्यु हुने घटनाका पीडित मूलतः दलित वा विपन्न परिवारका बालबालिका देखिन्छन्।
“त्यो किन भन्दा आमाबुवा दैनिक ज्यालादारीमा गएका हुन्छन् र बालबालिका खेल्न जाँदा दुर्घटनामा पर्ने गर्छन्,” उनले थपिन्।
पछिल्ला वर्षहरूमा त्यस्ता घटना बढिरहेको देखिए पनि स्थानीय सरकारदेखि स्थानीय बासिन्दासम्म त्यसबारे गम्भीर नदेखिएको साह औँल्याउँछिन्।