रौतहट । जिल्लाको फतुवाविजयपुर नगरपालिकाको सातौँ नगरसभा बिहीबार सम्पन्न भएको छ । लामो समयसम्म विवादित रहेका फतुवाविजयपुर नगरपालिकाले जनप्रतिनिधिको सहमतिपश्चात साताँै नगरसभा सम्पन्न गरेको हो । राजस्वको रकम अनियमिताको अभियोगमा निर्वाचित नगरप्रमुख गोपालराय यादव निलम्बन भएपछि नगरप्रमुखविहीन भएको कारण जनप्रतिनिधिबीच विवाद उत्पन्न हुँदा गएको असार १० मै सम्पन्न गर्नुपर्ने नगरसभा आठ महिना ढिलो गरी सम्पन्न भएको छ ।
कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको अध्यक्षतामा भएको नगर अधिवेशनमा आर्थिक वर्ष २०८०÷०८१ को नीति कार्यक्रम प्रस्तुत गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले प्रस्तुत गरेको नीति कार्यक्रममा ४८ करोड ६ लाख ८८ हजार २ सय रुपैयाँको अनुमानित आय प्रस्तुत गरिएको छ ।
नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाको क्षेत्रमा स्वास्थ्य सहर फतुवाविजयपुरको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार, मूलनाराअन्तर्गत स्वास्थ्य सेवा पुयाउने लक्ष्य लिएको छ । स्वास्थ्यसम्बन्धी विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जोड दिइएको छ । पोषण मैत्री शासन युक्त नगर घोषणा अभियानलाई तीव्रता दिँदै आयुर्वेदिक चिकित्सा पद्दतिको प्रवर्धनमा जोड दिइएको छ ।
यस्तै कृषितर्फ बगरखेती तथा सामूहिक खेती, कृषि उत्पादन वृद्धि गर्न भूमिको चक्लाबन्दीलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ । शिक्षा, युवा तथा खेलकुद र व्यावसायिक तालिम, खानेपानी तथा सरसफाइ, पर्यटन विकास वन तथा वातावरण र फोहोरमैला व्यवस्थापन, न्याय सम्पादन, सार्वजनिक सेवा प्रवाहमा सुधार, सुशासन र सार्वजनिक खर्चमा वित्तीय अनुशासन तथा पारदर्शिता कायम, महिला, बालबालिका, दलित, अल्पसंख्यक तथा ज्येष्ठ नागरिक सशक्तीकरण क्षमता विकास, सहकारी क्षेत्र र सूचना सञ्चार र प्रविधिको विकास गर्नेतर्फ विभिन्न किसिमको कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।
नगरसभाको उद्घाटन सत्रमा निर्वाचित वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मीको सहभागिता रहेको आयोजकले जनाएको छ ।