वीरगन्ज, वीरगन्ज महानगरपालिकाले महानगरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको दरबन्दी मिलान तथा सरुवा बारे झण्डै डेढमहिनादेखि महानगरपालिका र शिक्षकहरुबिच चल्दै आएको विवाद शुक्रबारदेखि साम्य भएको छ ।
शुक्रबार वीरगन्ज महानगरपालिका र आन्दोलनरत नेपाल शिक्षक महासंघबिच भएको वार्तामा ५ बुँदे सहमति भएसंगै शिक्षकको दरबन्दी मिलान÷सरुवा बारेको विवाद साम्य भएको हो ।गत साउन ११ गते वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले ४ सय ६८ जना शिक्षक र कर्मचारीहरूको दरबन्दी मिलान तथा सरुवा गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले विरोधका विभिन्न कार्यक्रम गर्दै आएको थियो । जसका कारण महानगरका सामुदायिक विद्यालयमा पठनपाठनपनि प्रभावित हुदैं आएको थियो ।
शुक्रबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण र शिक्षक महासंघ वीरगन्ज महानगरका अध्यक्ष प्रदीप जयसवालबिच भएको वार्तामा ५ बुँदे सहमति भएको हो । ५ बुँदे सहमतिपत्रमा चारै जनाले हस्ताक्षर गरेका छन् ।
दरबन्दी मिलान तथा सरुवा व्यवस्थापनमा परेका शिक्षक,कर्मचारी र बालविकास शिक्षकहरुले तोकिएको विद्यालयमा हाजीर भई नियमित कामकाज गर्ने,कुनै समस्या भएमा त्यसको सम्बोधन गरिने,पहिचान भएका समस्यामा परेका शिक्षक र कर्मचारीको समस्या यकिन गरी आवश्यकता अनुसार समाधान गर्दै जाने,विद्यालयका कर्मचारीहरुको सेवासुविधा र शर्त बारे काार्यविधि तयार गर्ने सहमति भएको छ ।
यस्तै बालविकास शिक्षकहरुका लागि परेको अपायक अवस्था पहिचान गरी आवश्यकता अनुसार काज व्यवस्थापन गरी समाधान गर्ने र वीरगन्ज महानगरपालिकाको समग्र शैक्षिक विकासका लागि नेपाल शिक्षक महासंघ महानगर कार्यसमिति र वीरगन्ज महानगरपालिका बिच सहकार्य गर्दै अगाडि बढ्ने सहमतिपनि भएको शैक्षिक प्रशासन महाशखाका प्रमुख कर्णले जानकारी दिने ।
वार्तामा सहभागी नेपाल शिक्षक महासंघ वीरगन्ज महानगर कार्यसमितिका अध्यक्ष जयसवालले दरबन्दी मिलान तथा सरुवाबाट समस्या परेका शिक्षक तथा कर्मचारीहरुको समस्या समधान गर्ने सहमति भएको बताए । सहमतिसंगै शिक्षक र कर्मचारीहरु तोकिएको विद्यालयमा आइतबारदेखि हाजीर भई कामकाजमा खटिने बताए ।