वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिका वडा नम्बर ४ सँगको सिमानामा रहेको तिलावे पुल आज पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
यो पुल पर्सा जिल्लाको क्षेत्र नम्बर २ मा पर्छ, जसका संघीय सांसद अजय चौरसिया र प्रदेश सांसद श्याम पटेल हुन्। पुल भासिएपछि स्थानीय जनतामा व्यापक निराशा फैलिएको छ, किनकि दैनिक हजारौं नागरिक यस पुलबाट यात्रा गर्ने गर्दथे।
पुल भासिनु केही महिनाअघि नै यसको कमजोर अवस्थाको बारेमा स्थानीयले जनप्रतिनिधिहरू र सिँचाइ विभागलाई जानकारी गराइसकेका थिए। डोकैला बहुअरी निवासी युवा नेता चन्दन यादवले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत पुलको पहिलो स्थलगत रिपोर्टिङ गरेका थिए, जसपछि जनप्रतिनिधिहरू र सिँचाइ विभागले माटो पुर्ने काम गराए पनि ठोस समाधानको प्रयास नगरेको स्थानीयहरूको आरोप छ।
पुलको सुरक्षाका लागि सिँचाइ विभागका प्रमुख मनोरञ्जनले पनि निरीक्षण गरेका थिए, तर कुनै ठोस कदम चाल्न नसकिएकाले आज पुल पूर्णरूपमा भासिएको हो। पुल भासिएपछि आवतजावत रोकिएको छ, जसले वीरगञ्ज र ग्रामीण क्षेत्रका नागरिकलाई थप कठिनाइमा पारेको छ। गण्डक भएर वीरगञ्ज जाने सर्वसाधारणलाई निकै मर्का परेको छ।
स्थानीयहरूले पुल निर्माणका लागि राजनीतिक नेताहरूले तत्काल दबाब दिनुपर्ने आवश्यकता औंल्याएका छन्। तर, हालसम्म कुनै ठोस पहल नहुँदा स्थानीय जनतामा निराशा र आक्रोश देखिएको छ।
पुल मर्मत र पुनर्निर्माणमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई दबाब दिने जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाइसकेको भए पनि यस क्षेत्रका नागरिकहरू समाधानका लागि तत्काल कदम चाल्नुपर्ने माग गर्दै आएका छन्।