वीरगंज- वीरगंज महानगरपालिकाका कर्मचारीहरु आजदेखि आंशिक हडतालमा उत्रिएका छन् । माग पुरा नभए असोज १ गते देखि अनिश्चितकालीन सम्पूर्ण सेवा प्रवाह ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।
यसअघि गत २७ गते प्रमूख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई स्थानीय तह कर्मचारी संघ नेपाल वीरगंज महानगरपालिका इकाई समितीले विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको थियो।
`गत वर्ष देखि समयमा तलब नपाउनु, सेवा निवृत कर्मचारीहरुको उपदान रकम नपाउनु कर्मचारीहरुको वृति विकास रोकिनु, आदि समस्याहरुबारे पटक-पटक प्रमुख प्रशासकीय अधिकृत समक्ष कुराकानी गर्दा आज भोलीभनि आलटाल गर्दै आउनाले समस्या झन जटिल हुँदै गएको र हामी कर्मचारीहरु अति नै पिरमार्कामा परेकोले वाध्य भई मिति २०८१ भदौ २६ गते वीरगंज महानगरमा कर्मचारी भेला गरी सो भेलामा निर्णय भएका तपसिल बमोजिमका हाम्रा मागहरु राखी ३ (तीन) दिन भित्र सम्बोधन गरी कर्मचारीहरुको मनोबल उच्च राख्न यो ज्ञापन पत्र बुझाइएको।' भनि संघका अध्यक्ष मुकेश गुप्ताले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।
यस सन्दर्भमा मेयर राजेशमान सिंहले कर्मचारीहरुसँग छलफल गर्दा सफाई कर्मचारीहरुलाई धम्काउँदै तिमीहरु मैले भनेको नमाने म फेरि विदेश घुम्न जान्छु र तिमीहरुको दशैं दशामा बदलिने गैर जिम्मेवारी पूर्वक जवाब दिएको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्।
ज्ञापन पत्रमा उल्लेख भए अनुसार आज भदौ ३० गते बिहान १० बजेदेखि १ बजेसम्म (वारुण यन्त्र, सर-सफाई, स्वास्थ्य सेवा बाहेक) को क्षेत्रमा आंशिक हडताल, भोलि भदौ ३१ गते विहान १० बजे देखि बेलुकी ५ बजे सम्म (वारुण यन्त्र, सर-सफाई, स्वास्थ्य सेवा बाहेक) आंशिक हडताल र असोज १ गते देखि अनिश्चित कालिन सम्पूर्ण सेवा प्रवाह ठप्प गरिने जनाइएको छ।