ठोरी, राष्ट्रिय आविष्कार केन्द्रका सञ्योजक डा महावीर पुनको पुस्तक बिक्री अभियान ठोरीमा भव्यताका साथ सम्पन्न भएको छ ।
सुवर्णपुरस्थित ज्ञानवाटिका माविबाट शुक्रवार शुरू भएको पुस्तक बिक्री अभियान ठोरीको दीपकनगर हुँदै वर्णमाला स्कूलमा पुगेर समापन भएको थियो ।
डा महावीर पुनको जीवनीमा आधारित ४९५ वटा पुस्तक बिक्री भएको पुनका सहयोगी हीरा पुनले बताए । ठोरीमा पुस्तक खरीद गर्ने उत्साही भीड देख्दा डा पुन निकै हर्षित भएका थिए । उनले ठोरीका जनता अत्यन्त सकारात्मक र उत्साहित भएको देख्दा आफूलाई थप प्रेरणा मिलेको बताए । डा पुनले ठोरीका विभिन्न विद्यालयहरूमा पुगी विशेषरूपमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै आफ्नो जीवनीबाट प्रेरणा लिन आग्रह गरे । विद्यार्थीहरू पनि सधैं किताबका पानामा मात्र देख्ने डा पुनलाई प्रत्यक्ष देख्न पाउँदा अत्यन्तै हर्षित र उत्साहित भएका थिए ।
हीरा पुनका अनुसार वीरगंजमा छ दिनसम्म चलेको पुस्तक बिक्री अभियानमा एक हजार ३०० वटा मात्र पुस्तक बिक्री भएको थियो । ठोरीमा एकै दिनमा ४९५ वटा पुस्तक बिक्री हुँदा आविष्कार केन्द्र खुशी भएको छ ।
ठोरी गापा कार्यालय, ज्ञानवाटिका, ज्ञानज्योति, ओडार, सरस्वती, दीपकनगर मावि, केही वित्तीय संस्था, स्थानीय चोक–चौतारा आदि स्थानहरूमा पुस्तक बिक्री भएको थियो । ठोरीमा डा महावीर पुनको अभियान भव्यताका साथ सम्पन्न भएको छ ।
सामाजिक कार्यकर्ता सन्तोष श्रेष्ठले समन्वय गर्दै ठोरीका विभिन्न निकायमा डा पुनलाई पु¥याएर पुस्तक बिक्री अभियानमा सहजीकरण गरेका थिए ।