बारा । बाराको पचरौता नगरपालिकामा ईन्जिनियरले उपभोक्ता समितीसँग १० प्रतिशत कमिसन मागेको आरोप लागेको छ । पचरौता नगरपालिकाको कालाबजारमा माईब्रम्ह बाबाको मन्दिरदेखि मेन रोडसम्म सम्पन्न सडक ढलान योजनाको मुल्यांकन समयमा नभएको पचरौता नगरपालिकालिका प्रवक्ता लक्ष्मी यादवले गुनासो गरेका छन् ।
प्रवक्ता यादवले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी नगरपालिका कार्यालयका ईन्जिनियर निवेशकुमार चौधरीले उपभोक्ता समितिलाई २ महिनादेखी आलटाल गरी हैरान पारेको आरोप लगाएका छन् । उक्त ढलान योजनामा उपभोक्ता समितिका पदाधिकारीसँग ईन्जिनियर चौधरीले १० प्रतिशत कमिशन नदिएसम्म मुल्यांकन नगर्ने बताएपछि ईन्जिनियर चौधरी र उपभोक्ता समितिका पदाधिकारीबीच भनाभन भएको विज्ञप्तीमा उल्लेख छ ।
‘ईन्जिनियर चौधरीले योजना सम्पन्न भईसकेको दुई महिना भन्दा बढी समय बितेपनि त्यस योजनाको मुल्यांकन गर्न उपभोक्ता समितीलाई तारेक माथी तारेक दिदै आएका थिए,’ प्रवक्ता यादवद्वारा जारी विभिप्तिमा भनिएको छ, ‘कमिशन नपाएकै कारण ईन्जिनियर चौधरीले आज/भोली भन्दै मुल्यांकन कार्यलाई टार्दै आएका थिए । वारम्वारको ताकेताबाट पनि ईन्जिनियर चौधरीले काम गर्न मानेन ।’ अन्तमा उनले मुखै खोले १० प्रतिशत कमिशन नदिएसम्म मुल्यांकन प्रतिवेदन नबनाउने भनेपछि ईन्जिनियर चौधरी र उपभोक्ता समितीका पदाधिकारीबीच भनाभन भएको विज्ञप्तीमा जनाईएको छ ।
कार्यालयलाई कुनै जानकारी नगराई हप्तौंसम्म ईन्जिनियर चौधरी कार्यालयबाट बेपत्ता रहने गरेको र कामै नगरी उपभोक्ता समितिलाई दुःख दिइरहेको आरोप विज्ञप्तीमार्फत लगाईएको छ । सेवाग्राहीलाई खराब नियत राखी दुःख दिईरहने ईन्जिनियर चौधरीलाई निष्पक्ष छानबीन गरी कानुनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।
उपभोक्ता समितीलाई दुःख दिंदै आएका ईन्जिनियर चौधरीले नेपाल ईन्जिनियर्स एशोसिएसन प्रादेशिक केन्द्र मधेश प्रदेश जनकपुर धाम र नेपाल निजामति कर्मचारी युनियन बाराबाट छुट्टाछुट्टै विज्ञप्ति जारी गराई भ्रम छर्न खोजेको घटनाप्रति पनि पचरौता नगरपालिकाको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कार्यालयका ईन्जिनियर वादविवाद गरी कार्यालयमा अनुपस्थित भएपछि पचरौता नगरपालिकाको विभिन्न योजनाको कामकाज प्रभावित भएको र यस अवस्थालाई सहज बनाउन पहल गरिदिन सम्बन्धित निकायसंग विज्ञप्तीमा अपिल गरिएको छ ।