मकवानपुरको थाहा नगरपालिका–८ ऐँसेलु खर्कका २५ वर्षीय तिलक कुमार थिङ र कैलाश–५ गोगनेकी २५ वर्षकी प्रमिला गोलेको गत शुक्रबार अर्थात् भदौ २८ गते बिवाह भयो। करिब तीन वर्ष लामो प्रेम सम्बन्धपछि बिवाह गरेका उनीहरूले बिवाह गरेर २४ घण्टा पनि सँगै बिताउन पाएनन्।
डिप्रेसनको बिरामी रहेका तिलकको बिवाहको भोलिपल्टै मृत्यु भयो। प्रमिलाको रंगिएको सिउँदो एक दिन रहेन।
प्रमिला र तिलकबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। प्रमिलाको गाउँमा देवाली पूजामा जाँदा तिलकले उनलाई मन पराएका थिए। सोही बेलामा दुवैजनाले एकअर्काको मोबाइल नम्बर साटासाट गरे। फोनमा कुरा हुन्थ्यो। कहिले काहीँ उनीहरू भेट्थे पनि।
लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरूले बिवाह बन्धनमा कसिने सुरसार गरे। प्रमिलाको परिवारमा सबैजनालाई यी दुईको प्रेमको बारेमा थाहा थियो। दुईजनाको छिट्टै बिवाह गरिदिने प्रमिलाको परिवारले सोचेका थिए।
तर शुक्रबार उनीहरुले सुटुक्क बिवाह गरे। तिलकले प्रमिलालाई आफ्नो घरमा लगे। घरमा तिलकका दाइ भाउजु/काका काकीहरूले बुहारी भित्र्याउने तयारी गरे। सेता अक्षता र प्रमिलाको लागि रातो सिन्दुर तयार पारे। साँझको ५ बजेतिरको समयमा तिलकले प्रमिलालाई आफ्नो घरमा भित्र्याएका थिए।
तामाङ परम्परा अनुसार प्रमिलालाई दिनेशको घरमा ल्याएपछि बिवाह गरियो। सबैले रातको खाना खाएर सुते।
बिवाहको पहिलो रात प्रमिला अत्यासिएकी थिइन्।
‘पराई घर कस्तो होला भन्ने डर मनमा थियो,’ उनी भन्छिन्, ‘कसो कसो डर लाउँदो रैछ। बुवा आमा छोडेर आएकी मलाई त्यो रात राम्ररी निन्द्रा लागेन। उहाँ (तिलक) पनि निन्द्रा लागेन भन्दै यताउती गरिहनुभएको थियो। मलाई जस्तै डर लागेर होला भन्ने सोचेँ। अरु त मलाई केही थाहै भएन।’
बिवाहको भोलिपल्ट अर्थात् शनिवार बिहान ४ बजेतिरको समयतिर तिलकका हातहरू काँप्न थाले। श्वास फेर्न गाह्रो भयो। प्रमिलाले पानी खुवाइन्। एकैछिनमा ठिक होला नि भन्ने लाग्यो उनलाई। उज्यालो भयो। घरका सबै जना उठे। बिहानको खाना बन्यो। सबै मिलेर खाना खाए।
तिलकले पनि परिवारसँगै थोरै खाना खाए। त्यतिबेलासम्म पनि तिलकलाई सञ्चो भएको थिएन। तर पनि बेला बेलामा परिवार र प्रमिलासँग बोलिरहेकै थिए।
तिलकका पारिवारिक स्रोतका अनुसार उनलाई केही महिना देखि डिप्रेसन थियो। सोही कारण टाउको दुख्ने, निन्द्रा नलाग्ने जस्ता समस्या हुँदै आएको थियो। त्यस्तै भएको होला भन्ने लागेर परिवारले उनलाई अस्पताल लानेबारेमा सोच्दै सोचेनन्।
शनिबार दिउँसो यस्तै १२ बजेतिरको समयमा तिलकको मृत्यु भयो। हातगोडा लगलग कमाएर भुँइमा ढलेका तिलक कहिल्यै नउठ्नेगरी लडे। बाँचुञ्जेल माया गरेर राख्ने कसम खाएर ल्याएका प्रमिलालाई २४ घण्टा पनि साथमा राख्न पाएनन्।
प्रेसरको कारण उनको मृत्यु भएको डाक्टरले बताएको उनकी दिदी नाता पर्ने सुनसानी थिङले बताइन्। उनका अनुसार सानै उमेरबाट विभिन्न कष्ट झेल्दै आएका तिलक मानसिक तनावमा थिए।
तिलक ३ वर्षको हुँदा उनको बुवा प्रतापसिंह थिङको मृत्यु भयो। उनकी आमा माइतीमाया थिङले पनि अर्को बिवाह गरिन्। तिलकभन्दा तीन वर्ष जेठो दाइ छन्।
आमा माइतीमायाले गत असारमा मात्रै अर्कोसँग बिवाह गरेकी थिइन्। आमा नभएपछि घर धान्न सकसमा परेका तिलक विगत दुई महिनादेखि नै प्रेसरको समेत रोगी बनेका थिए। आमा हुन्जेल केही व्यवहार नगरेका तिलकलाई एक्कासी सबै व्यवहार आइपर्यो।
‘उनका दाजुलाई सुधार गृहमा राखिएको थियो। भाउजु पालुङमै बस्थिन्। घरमा पसल थियो। पसल, घर व्यवहार, खेतीले गर्दा तिलकलाई गाह्रो थियो,’ उनकी दिदी सुनसानीले भनिन्।
यता, प्रमिलाका परिवारले बुधवार (हिजो) माइती लगे। बिवाह गरेको घरमा ज्वाइँको मृत्यु भएपछि अब माइतीमै राख्ने सल्लाह भएको प्रमिला बताउँछिन्।
‘जसको भएर त्यो घर गएको थिएँ, उहाँ नै हुनुहुन्न, प्रमिलाले भक्कानिँदै भनिन्, ‘न सासु सुसुरा हुनुहुन्छ। अब कोही नभएको घरमा म एक्लै कसरी बसौँ? झन् उहाँको याद आउँछ मात्रै।’
उता, प्रमिलाकी जेठानी अर्थात् तिलककी भाउजु तिलकको मृत्यु र प्रमिला घर नफर्कने खबरले बेहोसी अवस्थामा छिन्। घर नजिकै रहेको स्वास्थ्य संस्थामा उनको उपचार भैरहेको पारिवारिक स्रोत बताउँछ।