रौतहट । रौतहट स्थित ट्राफिक प्रहरीको सक्रियतामा १ महिना भित्र ९ सय सवारी साधन धनीलाई कारबाही गरी ८ लाख भन्दा रुपैयाँ राजश्व सङ्कलन गरेको छ। गत भदौ १ गते देखि मसान्त भित्र जिल्लाभरिमा नियम विपरीत चलेका ९ सय १२ सवारी धनीलाई कारबाही गरी कुल ८ लाख, ४३ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर गोविन्द अधिकारीले बताए ।
कारबाहीमा पर्ने सवारी साधन मध्ये सबभन्दा बढी ट्रकको सङ्ख्या २५५ रहेको छ। ट्राफिक प्रहरीले उपलब्ध गरिएको तथ्याङ्कमा कारबाहीमा पर्ने सवारी साधनमा दोस्रो स्थानमा मोटरसाइकल २३२ बटा रहेका छन्। त्यसैगरी १५५ कार, जिप, भ्यान,६७ बस र ७६ ट्याक्टर र १४६ ट्याम्पो रहेको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर अधिकारीका अनुसार सोही अवधिमा जिल्लाको विभिन्न स्थानमा भएको ४५ सवारी दुर्घटनामा परेर दुई जना पुरुषको मृत्यु भएको थियो। दुर्घटनामा ४६ पुरुष, १५ महिला र १० जना बालबालिका घाइते भएका थिए।
जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्न पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर, बागमती, डुमरिया , गौर, गरुडा, बमनहर, मौलापुर, बिजयपुर लगायत ग्रामीण भेगसम्म ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।