वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
श्री दुर्गा पुजा सेवा समितिले श्रीपुरस्थित श्री बाबा भुनेश्वरनाथ महादेव तथा श्रीराम जानकी मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा पाँच जना महिलासहित ५६ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । प्रमुख पाण्डेकाअनुसार ऋतु मण्डल, पुष्पा गिरी, रिना देवी, अंशु कुमारी पटेल, सिम्रन मण्डल, प्रसन्न कर्ण, बिबेक गिरी, इन्द्र चौहान लगायतले रक्तदान गरेका छन् ।
हिन्दुहरुको महान पर्व विजय दशमी, दिपावली तथा छठ पर्वलाई लक्षित गर्दै समितिले हरेक वर्ष जस्तै यस वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रक्तदान गर्नेहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । रक्तदान गर्नका लागि प्रेरित गर्दै रक्तदान गरेर जीवनदान गरी पुण्य कमाउन पनि उनले अनुरोध गरे ।
प्रमुख अतिथि प्रमुख सिंहले रक्तदान गर्नेहरुको प्रशंसा गर्दै भने, 'रक्तदान केवल जीवनदान होइन, यो समाजमा मानवीयताको उत्कृष्ट उदाहरण हो। प्रत्येक व्यक्तिले आफ्नो क्षमताअनुसार रक्तदान गर्नु सामाजिक जिम्मेवारी हो, जसले आपतकालमा धेरैको जीवन बचाउन सहयोग गर्छ।' साथै, उनले रक्तदानद्वारा प्राप्त हुने पुण्यको महत्त्वबारे चर्चा गर्दै यस प्रकारका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेता तथा समाजसेवी सुन्दर कुर्मी लगायत सेवा समितिका पदाधिकारी, जनप्रतिनीधि, बुद्धिजीवि लगायतको उपस्थिती रहेको थियो ।