काठमाडौँ- संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार द्विपक्षीय भेटवार्ता हुने तालिका छ। उनीहरुको भेटलाई महत्वका साथ हेरिएको छ।
गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो। उक्त भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल हुने बताइएको छ।
आइतबार नै प्रधानमन्त्री ओलीले नेपाली समुदायसँग अन्तर्क्रिया गर्नेछन्। सोही अवसरमा आयोजित रात्रिभोजमा सरिक हुने तालिका छ।
भोलि सोमबार प्रधानमन्त्री ओलीले युनिसेफ भवनमा हुने ‘लिड–फ्रि फयुचर, पाटर्नरसिप लञ्च’कार्यक्रमलाई सम्बोधन गर्नेछन्। सोही दिन उनले कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’को कार्यक्रममा मुख्यवक्ताका रुपमा सम्बोधन गर्नुका साथै नेपाली विद्यार्थीसँग अन्तर्क्रिया गर्नेछन्।
मङ्गलबार बिहान प्रधानमन्त्री ओली महासभाको छलफलमा सहभागी हुनेछन्। सोही दिन दिउँसो नेपालको स्थायी नियोगको कार्यालयमा उनी र यूएसएआईडीका प्रशासक सामान्थ पावरबीच भेटवार्ता हुनेछ।
सोही दिन नै प्रधानमन्त्री ओली र युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिचेलसँग, सामोअका प्रधानमन्त्री फिमे नाओमीसँग तथा फिनल्याण्डको राष्ट्रपति र प्रधानमन्त्रीसँग छुट्टाछट्टै द्विपक्षीय भेटवार्ता हुने तालिका छ।
बुधबार प्रधानमन्त्री ओली र एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच शिष्टाचार भेट हुनेछ। उनले ‘समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा’ विषयक समूहगत उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछन्।
सोही क्रममा प्रधानमन्त्री ओली र बङ्गलादेशका प्रमुख सल्लाहकारबीच द्विपक्षयी भेटवार्ता हुनेछ। प्रधानमन्त्री ओली बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनेछन्।