वीरगञ्ज । पर्सा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिलाहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । स्वास्थ्य कार्यालय पर्साले उपलब्ध गराएको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८०/८१ मा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या १६७१ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११.५ प्रतिशतले वृद्धि भएको हो ।
स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्सिङ अधिकृत मिरा यादवका अनुसार, यो वृद्धि मुख्यतः जनचेतना अभिवृद्धि र स्वास्थ्य सेवाको पहुँचका कारण भएको हो । उनले भनिन्, “पर्साका १४ वटै स्थानीय तहमा असुरक्षित यौन सम्पर्क, यसले पार्ने स्वास्थ्यसम्बन्धी समस्या, र सुरक्षित गर्भपतनका विषयमा निरन्तर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ, जसले गर्दा महिलाहरूमा सुरक्षित गर्भपतनको महत्त्वबारे व्यापक जनचेतना फैलिएको छ ।”
गत आर्थिक वर्षमा २० वर्ष मुनिका १३७ युवती र २० वर्ष माथिका १५३४ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये १२ हप्तासम्मको गर्भपतन गराउने महिलाको सङ्ख्या १६२६ रहेको छ, जसले गर्भपतनलाई प्रारम्भिक चरणमा गराउनुपर्ने महत्त्व दर्साउँछ ।
पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिकामा पनि सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढेको छ । गत आर्थिक वर्षमा १३७७ महिलाले यो सेवा लिएका छन्, जसमा १२९ जना २० वर्ष मुनिका युवतीहरू रहेका छन् । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाकी अधिकृत इन्दिरा लोहनीले यस वृद्धि पछाडि नागरिक सचेतनाको मुख्य भूमिका रहेको बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले असुरक्षित गर्भपतनको औषधिको बिक्री वितरण रोक्न महानगरले चाँडै अनुगमन गर्ने योजना रहेको जानकारी दिए । उनले भने, “असुरक्षित गर्भपतनको औषधी बिक्रीले महिलाको स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ, त्यसैले यसलाई रोक्न महानगर सक्रिय हुँदै छ ।”
मेयर सिंहले सुरक्षित गर्भपतन सेवाबारे विशेष गरी किशोर किशोरीहरूलाई लक्षित गरेर थप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उहाँले वीरगञ्जकै निजी औषधि पसलहरूमा असुरक्षित गर्भपतनका औषधिहरूको बिक्री वितरण भइरहेको जानकारी आफूले पानी पाएको भन्दै त्यसलाई रोक्न महानगरले छिट्टै अनुगमन थाल्ने पनि जानकारी गराए ।
कार्यक्रममा सहभागी नारायणी अस्पतालकी प्रसूति रोग विशेषज्ञ डा. मञ्जु राउतले सुरक्षित गर्भपतन सेवाले मातृ मृत्यु दर घटाउन महत्त्वपूर्ण योगदान दिन सक्ने बताइन् । उनले भनिन्, “असुरक्षित गर्भपतनको कारणले महिलामा जटिलता बढ्ने जोखिम छ, त्यसैले सुरक्षित गर्भपतन सेवाको पहुँचलाई अझ सुदृढ पार्नुपर्ने आवश्यकता छ ।”
स्वास्थ्य लाइभ मिडियाका अध्यक्ष अर्जुन अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयकी नर्सिङ अधिकृत आरती ठाकुर, वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाका अधिकृत अनिषकान्त कुशवाहा लगायतको पनि सहभागिता थियो । कार्यक्रमको सहजीकरण युवा समाजसेवी सुर्पिया शाहले गरेकी थिइन् ।