वीरगन्ज । सरकारी निकायमा रहेका सूचना अधिकारीलाई कार्यालयको सूचनाको हकबारे जानकारी नभएको सूचना अधिकारीहरूले बताएका छन्।
वीरगन्जमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकमा महिला सशक्तीकरण विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सूचना अधिकारीहरूले नाम मात्रको सूचना अधिकारीबाट हटाउन माग गरेका हुन्।
कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख तथा सूचना अधिकारी अरविन्दलाल कर्णले सूचनाको अधिकार नभएकाले सूचना अधिकारीबाट हटाउन आग्रह गरे।
उनले नेपालको संविधानमै सूचनाको हक उपलब्ध गराउनुपर्ने भन्दै सरकारी निकायका सूचनाका लागि अधिकारी तोकिएको भए पनि सूचना नभएको बताए।
सूचना अधिकारी कर्णले लामो समयदेखि सूचना अधिकारीको रूपमा जिम्मेवारी पाएकाले नाम मात्रको सूचना अधिकारीबाट बिदा गरिदिन कार्यक्रममै सहभागी प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईसमक्ष आग्रह गरे।
‘महानगरमा सूचनाका लागि निवेदन दर्ता भएपछि सम्बन्धित शाखामा पत्रचार भएको हुन्छ,’ उनले भने, ‘तर, सम्बन्धित शाखा यो विषयमा गम्भीर नबन्ने हुनाले काम गर्न समस्या हुँदै आएको बताए।’
यस्तै, नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष अनुप तिवारीले अहिलेजस्तो डिजिटल समयमा पनि सहज रूपमा सूचना नपाउनु दुःखद रहेको बताए।
उनले देशका सम्पूर्ण पालिकामा, सरकारी निकायमा वेबसाइट भए पनि सूचना उपलब्ध नरहेकाले यसमा गम्भीर बन्न आग्रह गरे।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगको आयुक्त कमला ओलीले सरकारी निकायले सूचना दिन आलटाल गर्दै आएकाले सूचना उपलब्ध गराउन पटकपटक सम्बन्धित सरकारी निकायमा पत्रचार गर्दै आएको बताइन्।
उनले सरकारी वा सार्वजनिक निकायमा रहेका सूचना अधिकारीसमक्ष पहिले आफूले चाहेको सूचना माग गर्ने नपाएको खण्डमा आयोगमा निवेदन दिने बताइन्।
राष्ट्रिय सूचना आयोगको सचिव होमप्रसाद लुइँटेलले सूचनामा महिला र पुरुष सबैको पहुँचमा हुनुपर्ने आजको आवश्यकता रहेको बताए।
यस्तै, वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले महिलाहरूलाई सूचनाको पहुँचमा नरहेकाले पहिले पहुँचमा पुग्न आग्रह गरे।उनले सूचनाको हक राम्रो सकारात्मक काममा भन्दा नकारात्मक काममा बढी प्रयोग हुँदै आएको बताए।