आमिर खानकी फिल्म ‘दंगल’मा बबिता फोगाटको भूमिका देखिएकी कलाकार सुहानी भटनागरको मृत्यु भएको छ। उनको १९ वर्षको उमेरमा मृत्यु भएको हो। डर्मेटोमायोसाइटिस नाम एक दुर्लभ रोगका कारण उनको मृत्यु भएको आफन्तले बताएका छन्।
बिराम बढेपछि गत मंगलबार उनलाई एम्स अस्पताल भर्ना गरिएको थियो। यो दुर्लभ रोगको उपचारका लागि चिकित्सकले स्टेराइड दिन सुरु गरेका थिए। जसले उनको रोगप्रतिरोधी क्षमता घटायो र इन्फक्सन झन् बढायो।
जब उनलाई आइसियुमा भर्ना गराए तब फोक्सो खराब भइसकेको थियो। उनले शुक्रबार राति अन्तिम श्वास लिएकी हुन्। उनी उक्त फिल्मका अलावा केही टिभी एडमा पनि देखिएकी थिइन्। आमिरले लेखेका छन्, 'उनको निधनबाट हामी धेरै दु:खी भएका छौं।'
डर्मेटोमायोसाइटिस एक गम्भीर इन्फ्लमेट्री डिजीज हो। डर्मेटोमायोसाइटिसमा छाला रातो हुने, मांसपेशी कमजोर हुने र मांसपेशीमा दुखाइ आदि समस्या देखिन्छन्।
डर्मेटोमायोसाइटिस बच्चा र पाकालाई प्रभावित पार्छ। यो सामान्यतया ४० देखि ६० सालको उमेरका बीच हुन्छ। यसैगरी ५ देखि १५ वर्षको उमेरमा पनि डर्मेटोमायोसाइटिसमा छाला रातो वा बैजनी रंगका र्यासेज आउँछन्। यो धेरै अनुहार, कुहिनो, घुँडा, छाति र पिठ्युमा देखिन्छन्। यसमा मांशपेशी कमजोर हुन्छ। हिप्स, काँध, जाँघ, पाखुरा र गर्दनको मांसपेशी कमजोर हुन्छ।