चितवन- जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये एक हजार चार हजार ९२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ। यहाँका विभिन्न अस्पतालमा उपचार गर्न आएकामध्ये एक हजार एक सय ५५ जना चितवनका हुन् भने तीन सय ३७ जना बाहिरी जिल्लाका हुन्।
साउनयता जिल्लामा डेङ्गीको सङ्क्रमण र स्क्रब टाइफसका बिरामी बढ्दै गएको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए। उनका अनुसार हालसम्म पाँच हजार एक सय १३ जनाको परीक्षण गर्दा एक हजार चार हजार ९२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको हो।
सबैभन्दा बढी भरतपुर महानगरपालिकामा चार सय ६२ जनामा डेङ्गीको सङ्क्रमण देखिएकामा दुई जनाको मृत्यु भएको प्रमुख रुपाखेतीले बताए। उनका अनुसार इच्छाकामना गाउँपालिकामा तीन सय ७६, रत्ननगर नगरपालिकामा एक सय ८४, खैरहनी नगरपालिकामा ६५, राप्ती नगरपालिकामा २९, कालिका नगरपालिकामा ३१ र माडी नगरपालिकामा आठ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ।
प्रमुख रुपाखेतीका अनुसार गत आवमा २३ हजार आठ सय ४० जनाको परीक्षण गर्दा एक हजार आठ सय ३१ जनामा डेङ्गीको सङ्क्रमण देखिएको थियो। वर्षा हुने र घाम लाग्ने समय लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले भदौ, असोजमा डेङ्गी सङ्क्रमण देखिने गर्दछ। उनले भने, “अहिले साउनको सुरुवतादेखि डेङ्गीको सङ्क्रमण बढ्दै गएको हो।”
यो रोग घरवरिपरी बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने भएकाले यो समयमा बढी सतर्कता अपनाउनुपर्ने उनले उल्लेख गरे।