काठमाडौँ — नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल, भारत र बंगलादेशबीच बिजुली बिक्री गर्न ऐतिहासिक सम्झौता भएसँगै नेपाललाई तेस्राे मुलुकमा बिजुली बेच्ने बाटो खुलेको छ ।
त्रिपक्षीय सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेणु नाराङ र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)का अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र बंगलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको हो । नेपालले भारतसँग मात्रै विद्युत् व्यापार गर्दै आएकोमा अब बंगलादेश पनि जोडिएको हो ।
यसअघि ४० मेगावाट बिजुली खरिदबिक्री गर्न साउन १३ मा सम्झौता हुने भनिएको थियो। तर सम्झौता नहुँदै बंगलादेशमा सरकारविरुद्ध विद्यार्थीको देशव्यापी प्रदर्शन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् । त्यसपछि बिजुली खरिदबिक्री सम्झौताबारे अन्योल सिर्जना भएको थियो । तर बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने प्रक्रियालाई निरन्तरता दिने बताएपछि सम्झौता भएको हो ।
प्राधिकरणले वर्षायामका ५ महिना अर्थात् हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने समझदारी छ, जसअनुसार ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश निर्यात हुनेछ । त्यसका लागि विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । त्यसैले ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नुपर्नेछ ।
मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने भएको हो । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।