'नवरात्र' शब्दले नौ अहोरात्र (रातहरू) भन्ने जनाउँछ। यस समयमा शक्तिका नौ स्वरूपहरूको पूजा गरिन्छ। 'रात' शब्दले सिद्धिलाई जनाउँछ। हाम्रा ऋषि मुनिहरूले दिनलाई भन्दा रातलाई बढी महत्त्व दिएका छन्, त्यसैले दीपावली, शिवरात्रि र नवरात्रि जस्ता चाडहरू रातमा मनाउने परम्परा छ । हाम्रो शास्त्रमा बर्षमा ४ नवरात्रको बारेमा बताएको भएपनि २ नवरात्र धेरै प्रचलनमा रहेको छ र आषाढ र पुषमा आउने नवरात्र त्यति धेरै प्रचलनमा रहेको छैन, त्यसैले आषाढ र पुषको नवरात्रलाई गुप्त नवरात्र पनि भन्ने गरेको पाइन्छ। चैत्र शुक्लपक्षमा हामीले रामनवमी भनेर मनाउने चैत्र नवरात्रको नवौँ दिन वा अन्तिम दिन हो। नेपालीहरुले विशेष गरेर शारदीय नवरात्र अर्थात् शरद् ऋतुको आश्विन शुक्लपक्षमा आउने नवरात्रलाई विशेष गरेर मनाउने परम्परा रहेको छ।
नवरात्रमा विभिन्न यज्ञ-अनुष्ठान, मन्त्र जप, दुर्गा पुजा, दुर्गा शप्तशती पाठ, तान्त्रिक सिद्धि आदिको लागि राम्रो हुन्छ र नवरात्रमा शक्तिको उपासना हुने भएकाले र हाम्रो परम्परा र शास्त्रमा पनि देवीलाई शक्ति स्वरुप मानिएकाले गर्दा नवरात्रमा देवी पुजा गर्ने गरिएको हो। शक्तिको उपासना भनेको आफुमा रहेको शक्तिलाई जगाउनु हो। त्यसैले आफ्नो भित्रको शक्ति उजागर गर्न चाहने जो कोहि ले नवरात्रमा शक्तिको उपासना गर्नुपर्छ र यदि उपासना गर्न सकिदैन भने पनि तामसी भोजन त्यागेर शाहाकारी भोजन गरेर रहदाँ अवश्य पनि राम्रो हुन्छ।
ऋषिमुनिका अनुसार प्रकृतिका धेरै अवरोधहरू रातमा समाप्त हुन्छन्। आधुनिक विज्ञान पनि यससँग सहमत छ। यदि दिनको समयमा आवाज निकाल्दा धेरै टाढा जादैँन, तर यदि रातमा आवाज गर्यो भने त्यो धेरै टाढा जान्छ। यसमा दिनमा हुने कोलाहल वा हल्ला बाहेक वैज्ञानिक तथ्य पनि छ कि दिनमा सूर्यको किरणले आवाजको तरङ्ग र रेडियो तरङ्गहरूलाई अगाडि बढ्न बाट रोक्छ। रेडियो यसको एक जीवन्त उदाहरण हो। कम पावर भएका रेडियो स्टेशनहरू दिनको समयमा अलिकति टाढा पनि राम्रोसँग सुन्न गाह्रो हुन्छ, तर त्यहि रेडियो स्टेशनपनि सूर्यास्त पछि सजिलै सुन्न सकिन्छ।
वैज्ञानिक सिद्धान्त यो हो कि सूर्यको किरणले दिनको रेडियो तरंगहरूलाई रोक्दछ, त्यस्तै मन्त्रको तरंगलाई पनि दिनमा सुर्यको किरणले गर्दा अवरोध खडा हुन्छ, यसैले ऋषिमुनिले दिनलाई भन्दा रातलाई अधिक महत्व दिएका छन्। यस वैज्ञानिक तथ्यलाई ध्यानमा राख्दै शक्तिका उपासकहरुले आफ्नो शक्तिशाली विचार वा मन्त्रतन्त्र, पुजापाठ आदिका तरंगहरूलाई दृढ संकल्प र उच्च अवधारणाको साथ वातावरणमा पठाउँछन् भने, सही समयमा सही विधिले गरेका छन् भने उनीहरूको उपलब्धि अर्थात् मनोकामना सिद्धि हुने निश्चित छ।
शारदीय नवरात्र वा आश्विन शुक्ल नवरात्रलाई विशेष पर्वको रुपमा मनाउने गर्दछन् । नेपालीहरुले यो नवरात्रलाई देवीले महिषासुरमाथि विजय प्राप्त गरी देवता र मानवको रक्षा गरेको खुसीमा मनाउने गरिएको छ। आश्विन शुक्ल प्रतिपदाको दिन देवीको घट स्थापना गरी जमरा विधिपूर्वक छरेर नौ दिन सम्म नियमित जमराको पुजा गरेर नवौँ दिनको दिन त्यसलाई देवीमा अर्पण गरेर दशमी दिन त्यो जमरा लगाइन्छ।
यो पर्वको नवरात्र सकिएपछि दशमी तिथिलाई देवीले महिषासुरमाथि विजय प्राप्ति गरेको दिनमा आफ्नो मान्यजन बाट टिका, जमरा लगाउने र आशिर्वाद लिने गरिन्छ।