जिल्ला प्रशासन कार्यालय पर्साले चाडपर्वको समयमा खाद्य तथा अखाद्य वस्तुको मूल्यवृद्धि नगर्न अपिल गरेको छ । कार्यालयले शुक्रबार सार्वजनिक अपिल जारी गर्दै आसन्न दसैँ, तिहार तथा छठ पर्वको नाममा कुनै पनि कालोबजारी नगर्न अनुरोध गरेको हो ।
विभिन्न ५ बुँदे निर्देशन जारी गर्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुुषालले चाडपर्वको समयमा सर्वसाधारणहरुलाई कुनै प्रकारका दुःख नदिन अनुरोध गरेका हुन् ।
उनले उपभोक्ताका अधिकार सुरक्षित गर्दै खाद्य वा गैरखाद्य वस्तुको सर्वसुलभता, नियमितता, उचित तौल एवम् मूल्यमा उपलब्ध गराउन अपिल गरेका छन् । यो समयमा सरोकारवाला व्यक्ति तथा निकायहरु बढी जिम्मेवार बन्नुपर्नेमा उनको जोड छ ।
प्रमुख जिल्ला अधिकारी भुषालले जारी गरेको सूचनामा कुनै वस्तुको अनुचित तवरले मूल्य वृद्धि नगर्न, अखाद्य वस्तुको बिक्री वितरण नगर्न तथा सवारी साधनको भाँडामा मूल्य बृद्धि नगराउन अनुरोध गरेका छन्।
यसैगरी माछामासु काट्ने, राख्ने तथा बिक्री हुने स्थलहरुको सरसफाइ, माछामासु काट्ने व्यक्तिले सफा एप्रोन लगाउन, माछामासु काट्ने औजारहरुको सफाइ, सफा पानीको प्रयोग तथा माछामासु बिक्री गर्ने स्थल सुरक्षित एवम् व्यवस्थित बनाउन पनि प्रजिअ भूषालले सूचना मार्फत अपिल गरेका छन्।
चर्को स्वरमा डिजे लगायतका वाद्यवाधनका साधन नबजाउन तथा पटकाजन्य वस्तुको प्रयोग र खरिद बिक्री जस्ता कार्य नगर्न पनि प्रजिअ भुषालले अपिल गरेका छन् ।
यस्तै जुवा, तास, चिठा खेल्ने-खेलाउने जस्ता कानुनद्वारा वर्जित कार्य नगर्न सूचना मार्फत अनुरोध गरिएको छ ।
अधिकारप्राप्त कार्यालयले नियमितरुपमा गर्नुपर्ने अनुगमनलाई तीव्र पारी प्रभावकारी बनाउन र उपभोक्ता अधिकार सुनिश्चित गर्न काुनन विपरितका कार्यलाई कानूनको दायरामा ल्याउने प्रबन्ध मिलाउन प्रजिअ भूषालले सार्वजनिक अपिल गरेका छन ।
उनले चाडपर्वको संरक्षण एवम् सम्बर्दन गर्दै हर्षोल्लास तथा सभ्यभव्य तरिकाले मनाउन जिल्ला बासीमा अपिल समेत गरेका छन् ।