जलेश्वर सर्राफ
जनकपुरधाम- मधेस प्रदेश प्रहरी कार्यालयले मधेस प्रदेशका ८ जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ । दसैँ, तिहार र छठ पर्वमा मधेसमा ६ हजार ३९४ जनशक्ति परिचालित गरिने मधेस प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा एउटा र ८ वटा जिल्लामा एक–एक वटा कमान्ड पोस्ट स्थापना गरिएको छ । यात्रुलाई सहजीकरण गर्न पर्सा देखी सप्तरीसम्म ५३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
सुरक्षा योजना अनुसार २१ वटा रिजर्भ टोली ‘स्ट्याडबाई’ राखिएको छ । अपराधजन्य गतिविधिको सूचना सङ्कलन गर्न सादा पोसाकमा ३२ टोली परिचालन गर्ने प्रहरीको योजना छ । लामो दुरीको सवारी साधन चेकजाँचका लागी १८ वटा टिम परिचालन गरिएको छ।
मापसे चेकजाँच गर्न ३८ वटा टोली परिचालन गर्नेगरी योजना लागु गरेका छौँ । मधेस प्रदेश प्रहरी कार्यालयले चाडपर्व केन्द्रीय सुरक्षामा कर्डन एण्ड सर्च अपरेशन सञ्चालन गर्न ११ वटा टिम र तराईका १४ ठाउँमा एम्बुसिङ गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ।
धर्ना जुलुस हुनसक्ने आकंलन गरेर मधेस प्रदेश प्रहरीले १८ वटा टिम परिचालन गर्ने भएको छ । अन्य ४७ वटा सुरक्षाकर्मीको टिम परिचाल गर्नेगरी योजना लागु गरिएको छ ।योजना अनुसार परिचालित जनशक्तिको कामकारबाही अनुगमन समेत गरिने छ।
अनुगमनका लागी प्रदेश स्तरमा एउटा र जिल्ला तहमा एक–एक वटा टिम बनाउने निर्णय भएको छ । दसैँ–तिहार र छठ पर्व अवधिभर ४८ वटा मोटरसाइकलमा ‘क्विक रेस्पोन्स टिम’ परिचालन गर्ने निर्णय गरिएको छ।
ट्राफिक प्रहरी र स्थानीय प्रहरीले ११६ ठाउँमा संयुक्त चेकजाँच गर्नेछन् । १९ वटा स्ट्राइकिङ टिम बनाउने निर्णय भएको छ ।
तराईका ८ जिल्लामा ३२५ ठाउँमा पिकेट ड्युटी राखिएको छ।
राजमार्गमा हुनसक्ने चोरी र डकैती नियन्त्रणका लागी हाइवे स्कर्टिङ गर्न २६ वटा टिम परिचालन गरिएको छ । जुवातास नियन्त्रण, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा र आर्थिक कारोबार हुने स्थानको सुरक्षामा आवश्यक फौज परिचालन गरिएको छ।
बजार अनुगमनका लागी पनि मधेस प्रदेश प्रहरी कार्यालयले टिम बनाएर परिचालन गरेको छ । चाडपर्व सुरक्षाका लागी १२६ वटा टोलीले मोबाइल पेट्रोल र २१२ टोलीले पैदल मार्फत पेट्रोलिङ गर्नेछन्।
चाडपर्वमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण गर्न प्रहरीले नेपाल–भारत सीमा नाकामा तालिम प्राप्त कुकुर र ड्रोन क्यामेराको प्रयोग गर्ने भएको छ । सीमाबाट हुनसक्ने तस्करी नियन्त्रण गर्न ८६ वटा टिम बनाएर परिचालन गरिने छ।
सुरक्षा योजना असोज १५ बाट कार्तिक २५ सम्म लागु गरिएको छ।