असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको डुबानले पर्सा र बारा जिल्लाका तरकारीखेतीलाई नराम्ररी क्षति पु-याएको कारण अहिले वीरगंज महानगरपालिकालगायत जिल्लाका ग्रामीण क्षेत्रका बजारहरूमा पनि हरिया तरकारीहरू महँगा भएका छन् ।
असोज १० गतेसम्म हरिया तरकारीहरूको मूल्य सामान्य थिए तर दुई दिनको अविरल वर्षाले जिल्लाका विभिन्न स्थानमा रोपिएका हरिया तरकारीहरू डुबानमा परेर क्षति पुगेपछि तरकारीको माग बढेको छ । अहिले पोखरिया बजारमा नयाँ आलु प्रतिकिलो रु ९० मा बिक्री भइरहेको छ भने पुरानो आलु र मूला रु ६०, प्याज रु १००, काउली रु १२०–१४०, बन्दाकोभी रु ८०, घिरौला रु ४०, भन्टा, बोडी, करैला र परवल रु १००, गोलभेडा रु १२०, रामतोरियाँ, लौका रु ८०, सजिवन, हरियो खुर्सानी रु २०० प्रतिकिलोमा बिक्री भइरहेका छन् ।
आलु, प्याज र काउलीबाहेक हरिया तरकारीहरू असोज १० गतेसम्म आधा मूल्यमा बिक्री भइरहेका थिए । पोखरियाभन्दा वीरगंजमा अझै बढी मूल्यमा हरिया तरकारीहरू बिक्री भइरहेका छन् । वीरगंजमा काउली रु १६०, गोलभेडा रु १७०, भिन्डी रु ८०, घिरौला रु ७० प्रतिकिलोमा बिक्री भइरहेका छन् ।
रामेश्वर मेहता, सिम्रौनगढर
हरिया तरकारी खेतीका लागि नेपालमैं चर्चित सिम्रौनगढमा असोज ११ र १२ गतेको पानीले हरिया तरकारी खेती गर्ने किसानहरूलाई खासै नोक्सान नगरे पनि अवसरको फाइदा उठाउन किसानहरूले हरिया तरकारीको मूल्यवृद्धि गरेका छन् ।
सिम्रौनगढनजीक कुनै पनि खोला छैन । नेपालतर्फबाट बग्ने जमुनिया र लालबकैया खोला १२ किलोमिटरको दूरीमा छन् । भारततर्फ पनि खोला छैन, जसले गर्दा यहाँ हुने हरिया तरकारी खेती बाढीको चपेटामा पर्दैन । लगातार एक सातासम्म पानी पर्दा मात्र यहाँको हरिया तरकारी खेतीलाई असर पार्छ । यसपटक दुई दिनको अविरल बर्खाले यहाँको काउलीखेतीमा थोरै मात्र असर गरेको किसानहरूले बताएका छन् । सिम्रौनगढ र आसपासका पालिकाहरू मौसमी तथा बेमौसमी हरिया तरकारी खेतीका लागि प्रख्यात छन् । मौसमीभन्दा बेमौसमी हरिया तरकारी खेतीबाट मुनाफा बढी भएपछि यहाँका किसानहरू बेमौसमी खेतीतर्फ आकर्षिक भएका छन्, जसले गर्दा अहिले यो क्षेत्रमा हरिया तरकारी खेती बाह्रैमास हुन थालेका छन् । यही अवसरको फाइदा तरकारीखेती गर्ने किसानहरूले उठाएका हुन् । बाढी, पहिरोका कारण सबैभन्दा बढी हरिया तरकारी खपत हुने काठमाडौं उपत्यकालगायत पर्सा, बारा, रौतहट, सर्लाहीमा तरकारीहरू महँगा भएका समाचारले यहाँका किसानहरूले पनि हरिया तरकारीहरू महँगो मूल्यमा बिक्री गर्दै आएका छन् । सिम्रौनगढ र आसपासका पालिकाहरूका बजारमा काउली रु १५०, गोलभेडा रु १२०, रामतोरियाँ रु ५०, आलु, बन्दाकोभी रु ६०, प्याज, करैला रु १००, घिरौला, बोडी, लौका रु ५०, परवल रु ७० प्रतिकिलोमा बिक्री भइरहेका छन् ।