तिलोत्तमा — रुपन्देहीमा ‘बीपी कोइराला स्मृति कप टी–२०’ क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कात्तिक ३ देखि १० गतेसम्म भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिता हुने आयोजक नेक्सस क्रिकेट एकेडेमीले जनाएको छ ।
नेपाली क्रिकेटको विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगितामा नेपाल बाहेक दक्षिण एसियाली ४ वटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका प्रथम श्रेणीका खेलाडीको सहभागिता रहने एकेडेमीका अध्यक्ष भरत बहादुर शाहीले बताए । प्रतियोगितामा पाकिस्तान राष्ट्रिय टीमबाट खेलिसकेका इमरान नाजिर, बंगलादेशी स्टार आलोक कपाली र मुनिम साहरियर, भारतबाट आइपीएल खेलाडी दीपक पुनियासहित सबै टीममा प्रथम श्रेणीका खेलाडीको सहभागीता रहने उनले बताए ।
‘नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) ले नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानको रक्षाका खातिर जीवन पर्यन्त गरेको संघर्षको सम्झना गर्दै प्रतियोगिताको आयोजना गर्दैछौं,’ उनले भने, नेपालमा क्रिकेटको क्रेज बढ्दै गएको विश्व कपमा सहभागी भएकाले अरु राष्ट्रलाई नेपाल चिनाउनेगरि खेल गर्न लागिएको हो ।
उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड २० लाख रुपैयाँ खर्च हुनेछ । नेपाल क्रिकेट संघको स्वीकृति तथा रुपन्देहीको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न रुपन्देहीका १६ वटै स्थानीय तहको साथ रहने उनले बताए ।
खेलमा विजेता हुने टिमलाई ५ लाख र उवविजेतालाई ३ लाख पुरस्कार प्रदान गरिने उनले जानकारी दिए । त्यस्तै प्लेयर अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याटरलाई २० हजार र हरेक दिनको प्लेयर अफ द म्याचलाई ५ हजार प्रदान गरिनेछ । आयोजकका अनुसार प्रत्येक दिन दुईवटा खेल र प्रतियोगिता अवधिभर १३ वटा खेल हुनेछ ।