बीरगन्ज । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले संविधान संशोधनको विषयमा सरकार मौन नरहेको बताएका छन् ।
वीरगन्जमा बिहीबार नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कानुनमन्त्री चौरसियाले यस्तो बताएका हुन ।संविधान संशोधनका विषयमा सत्तारुढ दलहरूबिच आन्तरिक छलफल जारी रहेको उनको प्रष्टोक्ति छ ।
दुइ ठूला दल कांग्रेस–एमालेबिच संविधान संशोधन लगायतका मुद्दाहरुमा सहमति भएरै नयाँ सत्ता समीकरण बनेको उनी बताउँछन् । त्यसकारण संविधान संशोधनसहित सहमति भएका मुद्दाबाट सत्तारुढ दलहरु पछाडि नहटेको उनको ठोकुवा छ ।
उनी भन्छन् , ‘कुन–कुन विषयमा संविधान संशोधन गर्ने हो ? त्यो विषयमा सत्तारुढ दलहरुबिच पहिलो चरणमा आन्तरिक छलफल चलिरहेको छ, सत्तारुढ दलहरुबिचको छलफलपछि त्यसपछि थप प्रक्रिया अगाडि बढाइन्छ । त्यो लगत्तै सरकारबाहिरका रहेका अन्य दलहरुसंग छलफल र संवाद हुन्छ, सबैसंग सहमति भएपछि संविधान संशोधनका प्रक्रिया अगाडि बढ्छ ।’
उनका अनुसार संविधान संशोधन हतारमा गर्ने विषय होइन । ‘सत्तारुढ दल र सत्ताबाहिरका सबै दलहरुबिच सहमति हुनुपर्छ, सहमति भएपछि मात्रै संविधान संशोधन सम्भव हुन्छ,’ उनले भने ।
सरकारको तीन महिनाको अवधिमा वर्तमान सरकारले धेरै मुद्दामा काम गरेको कानुन मन्त्री चौरसियाको भनाइ छ ।
उनका अनुसार सुशासन कायमदेखि आर्थिक स्थितिलाई चलायमान बनाउनसम्म तथा भ्रष्टचार रोकथाममा समेत सरकार सफल भएको छ । त्यस मानेमा वर्तमान सरकारको तीन महिने अवधि सफल नै रहेको उनको प्रष्टोक्ति छ ।
वर्तमान सरकारमा प्रमुख दुई घटक कांग्रेस–एमालेबिच कुनै मनमुटाव नभएको जनाउँदै उनले भने,‘यो सरकार दुई ठूला पार्टीको सहकार्यमा बनेको छ, त्यसकारण अहिले सरकार परिवर्तन भइहाल्ने अवस्थामा छैन । तपाइँहरु ढुक्क हुनुस यो सरकार २०८४ को निर्वाचनसम्म चल्छ, त्यसअघि सत्ता समीकरणमा कुनै फेरबदल हुनेवाला छैन।’
‘संविधान संशोधन, सुशासन, अर्थतन्त्रलाई पुन चलायमान बनाउने लगायतका एजेण्डामा अहिलेको सत्तासमिकरण बनेको छ, तर यी सब काम पुरा भएको छैन । त्यही भएर पनि अहिले सरकारको फेरबदलको अवस्था छैन,’ उनले भने ।
डेढ दशकदेखि अड्किएको टीआरसी विधेयक आफु कानुमन्त्री भएपछि सबै दलको सहमतिमा संसदबाट पारित गराउनु कानुन मन्त्रालयको ठूलो उपलब्धी रहेको उनको दाबी छ ।
प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल,नेपाली कांग्रेस पर्साका उपसभापति अशोककुमार गुप्ता,नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान,नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी, बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह, पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव, प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी लगायतकोपनि सहभागीता थियो ।