काठमाडौं । झुक्किएर कर्मचारीमा नियुक्त भएका एक उत्तर कोरियाली ह्याकरले बेलायतको कम्पनी नै ह्याक गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीको रिपोर्ट अनुसार कम्पनीले रिमोट वर्कर (अनलाइनबाटै कार्यालयको काम गर्ने) का रूपमा नियुक्त गरेका कर्मचारी ह्याकर परेपछि उनले कम्पनी नै ह्याक गरेका हुन् ।
कम्पनीले ती कर्मचारीलाई अनलाइनबाटै नियुक्त गरेको थियो । त्यस क्रममा उनले नक्कली कागजात पेस गरेको कम्पनीले जनाएको छ । व्यक्तिगत विवरण र रोजगारीको विवरणसँग सम्बन्धित कागजात नै नक्कली पेस गरेका उनलाई उक्त कम्पनीले सहजै विश्वास गरेको थियो ।
सो कम्पनीले कर्मचारीलाई कम्प्युटर नेटवर्कको पहुँच दिएको थियो । केही महिना उनले तलब पनि पाए । तर, विस्तारै उनी सकेजति कम्पनीका संवेदनशील जानकारीहरू डाउनलोड गरिरहेका थिए ।
कम्पनीले उनको प्रदर्शन त्यति राम्रो नभएको भन्दै ईमेल पठाएपछि त्यही ईमेलको जवाफ दिंदै उनले कम्पनीको सिस्टम नै ह्याक गरेको दाबी गर्दै फिरौती माग्न थाले ।
नाम नखुलाउने सर्तमा उक्त कम्पनीले यस घटनाको जानकारी साइबर सुरक्षा कम्पनी सेक्युअर वर्कलाई उपलब्ध गराएको थियो । सेक्युअर वर्कका अनुसार ती कर्मचारीले त्यस कम्पनीमा चार महिनासम्म काम गरेका थिए । त्यसपछि उनले सोही कम्पनीको ईमेल मार्फत फिरौती माग्न थालेका हुन् ।
फिरौती वापतको रकम नपाए संवेदनशील जानकारी बेचिदिने ह्याकरले धम्की दिएका थिए । कम्पनीले फिरौती दिएको छ वा छैन भन्ने विवरण बाहिर आइसकेको छैन ।
यस्तो घटना सन् २०२२ देखि नै देखिन थालेको भन्दै साइबर सुरक्षा विज्ञहरूले कम्पनीलाई सतर्कता अपनाउन सुझाव दिएका छन् ।
पछिल्लो समय पश्चिमा देशहरूले ‘उत्तर कोरियाका कामदार’ले नक्कली कागजात बुझाएर जागिर गरेको आरोप लगाउँदै आएका छन् । यद्यपि उत्तर कोरियाली कर्मचारीले कम्पनी नै ह्याक गरी फिरौती मागेको यो घटना दुर्लभ मानिएको छ ।