जेरुसलेम — इजरायली सेनाले उत्तरी गाजामा आइतबार गरेको आक्रमणमा कम्तीमा ७३ जनाको ज्यान गएको छ । हमास प्रशासनका अनुसार इजरायली रक्षा बल (आईडीएफ) ले आइतबार दिउँसो बेइत लाहियामा हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।
आक्रमणमा दर्जनौं घाइते भएका छन् । आईडीएफले भने हमासले ज्यान गुमाउनेको संख्याबारे गलत सूचना दिएको दाबी गरेको छ । त्यसबारे आधिकारिक तथ्यांक संकलन गरिरहेको आईडीएफको भनाइ छ ।
हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवासलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेपछि आईडीएफले बेइत लाहियामा आक्रमण गरेको हो ।
आईडीएफले शनिबार गाजाास्थित जबिलाको शरणार्थी शिविरमा गरेको हवाइ आक्रमणमा ३७ जनाको ज्यान गएको थियो । आक्रमणमा कम्तीमा ८५ जना घाइते भएका थिए ।
आईडीएफका पछिल्ला आक्रमणका कारण उत्तरी गाजामा दूरसञ्चार र इन्टरनेट सेवा अवरुद्ध छ । बाक्लो जनघनत्व रहेको जबलिया क्षेत्रलाई केही सातादेखि इजरायली फौजहरूले घेराबन्दी गरिरहेका छन् । दुई साताका लागि पुग्ने खाना र पानीसहित करिब चार लाख मानिस शिविरभित्र थुनिएका बताइएको छ ।
इजरायली आक्रमणमा केही दिनअघि हमास प्रमुख याह्या सिनवार मारिएपछि गाजामा युद्ध रोकिने अनुमान गरिएको थियो । तर हमासका उपनेताले इजरायललाई कडा जवाफ दिने बताएका छन् ।
गाजामा एक वर्षयताको इजरायली आक्रमणमा कम्तीमा ४२ हजार ५ सय जनाको ज्यान गइसकेको छ । दशौं हजार घाइते छन् ।सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा १२ सय जना मारिएका थिए । त्यसका साथै, हमासले २५१ जनालाई बन्धक बनाएर लगेको थियो । त्यसयता इजरायलले गाजामा निरन्तर आक्रमण गर्दै आएको छ ।
त्यसका साथै इजरायलले केही महिनायता लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहलाई लक्षित गरी आक्रमण जारी राखेको छ । आईडीएफका अनुसार आइतबार मात्रै ७० वटा रकेट लेबनानबाट इजरायली आकाशमा प्रहार गरिएको छ ।