काठमाडौँ , नेपालमा ‘पोस्ट मनसुन’ सिजन चलिरहँदा देशभर क्रमशः तापक्रम ओरालो लागिरहेको छ।
डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्ने भएकाले पनि देशभरको मौसम चिसोतर्फ ढल्किँदै गएको हो।
यसैबीच काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (कात्तिक ५ गते) १४ डिग्री सेल्सियसबाट पनि मुनि झरेको छ। यसअघि कात्तिक ३ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार उपत्यकाको न्यूनतम तापक्रम त्यसभन्दा पनि घटेर १३.८ डिग्री सेल्सियसमा झरेको हो।
यसैगरी आज देशभरमा सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा ३.६ डिग्री सेल्सियस मापन भएको छ। आज सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ धनगढीमा ३४ डिग्री सेल्सियस छ।
हेर्नुहोस् देशका विभिन्न स्थानका आजको न्यूनतम र हिजोको अधिकतम तापक्रम:
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई अधिकतम र सबैभन्दा कम तापक्रमलाई न्यूनतम तापक्रम भनिन्छ।
न्यूनतम सामान्यतया हरेक बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुने गर्छ। तसर्थ आजको अधिकतम तापक्रम भने भरे साँझ ५:४५ बजे मात्र सार्वजनिक हुनेछ।
यही असोज २६ (अक्टोबर १२) का दिन नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएपछि पोस्ट मनसुन सुरु भएको हो। नोभेम्बरसम्म रहने यो सिजन सुरु भएपछि मुलुकमा वर्षा कम भएको छ भने चिसो बढ्दै गएको छ।