वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत २३० जना छात्रछात्राहरूलाई आज खेलकुद सामग्री वितरण गरिएको छ।
बालमन्दिर विद्यालयको मागअनुसार वीरगञ्ज महानगरपालिकाले विगत आर्थिक वर्षमा खरिद गरी मौज्दातमा राखिएका खेलकुद सामग्री तथा जुत्ताहरू वडा कार्यालय, वडा नम्बर १० ले एक समारोहका बीच वितरण गरेको हो।
वडा अध्यक्ष सुशिल कुमार कानुको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्किपिंग डोरी, चेस, लूडो, ब्याडमिन्टन, फुटबलजस्ता खेल सामग्रीहरू साथै विद्यार्थीहरूको लागि जुत्ताहरू वितरण गरियो।
कार्यक्रममा महिला वडा सदस्य मिश्रा देवी नगरकोटी, दलित महिला वडा सदस्य प्रेमशिला देवी, वडा सदस्य सन्तोष जैसी चौलागाईं, वडा सदस्य प्रभु प्रसाद महतो, वडा सचिव पवन कुमार प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश कुमार टिबडेवाल, नि. प्र.अ. राजकुमारी सिंह लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
विद्यालयका अधिकांश विद्यार्थीहरू गरीब, दलित र विपन्न परिवारका रहेका कारण, यी सामग्रीहरू विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा दिने र खेलकुद तथा शारीरिक व्यायाममा समेत योगदान पुर्याउने उद्देश्यले वितरण गरिएको जनाइएको छ।
समारोहमा विद्यालय प्रशासनले पुनः माग गरेका सामग्रीहरू वितरण गर्न ढिला भए पनि आजको कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थपेको विद्यालयका शिक्षकहरूले बताएका छन्।