दाङको भालुबाङकी ८ वर्षीया बालिकामाथि बलात्कार भएको १२ दिन बितिसक्दा पनि प्रहरीले घटनामा संलग्नको पहिचान गर्न नसकेको भन्दै पीडित पक्षले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् ।
पीडित पक्षले भालुबाङकाे प्रहरी कार्यालयअगाडि दैनिकजसो धर्ना दिएर दबाब बढाउँदै आएका छन् । मंगलबार दिउँसो पनि भालुबाङस्थित पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ । साथै भालुबाङ बजार बन्द गरिएको छ ।
घटना गत असोज २४ गते फूलपातीको दिन भएको थियो । सशस्त्र प्रहरी क्याम्पनजिक टाँगिएको पिङ्ग खेल्न पुगेकी ८ वर्षीया बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको थियो ।
अहिले पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ । यस्तै ती बालिकासँगै रहेकी अर्की एक १५ वर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानका लागि कार्यालयमै राखेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले घटनाको समेत अनुसन्धान गरिरहेको छ ।
‘पीडित बालिका प्रहरीको संरक्षणमा हुनुहुन्छ । उहाँसँग रहनुभएकी अर्की एक १५ वर्षीया बालिकालाई पनि प्रहरी कार्यालयमा राखेका छौं । घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी ईश्वर थापाले भने, ‘यो घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको छ । सीआईबीको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ ।’
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएपनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि जनआक्रोश बढ्दै गएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दासम्म संघर्ष जारी राख्ने प्रदर्शनकारीले चेतावनी दिएका छन् ।
‘प्रहरी कार्यालयसँग निरन्तर छलफल गरिरहेका छौं । तर, प्रहरीले अझैसम्म संलग्न व्यक्ति पहिचान गर्न नसक्नु दुःखको कुरा हो । बालिकाको न्यायका लागि हामीले सार्वजनिक रुपमा दबाब सिर्जना गर्न थालेका छौं,’ राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष तथा संघर्ष समितिका संयोजक सुरज खड्काले भने, ‘के कारणले हो अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसक्नु ? हामीले थालेको संघर्ष न्यायको संघर्ष हो । हामीले घटनाको सत्यतथ्य छानबिन गर्न माग राखेका हौं ।’