महोत्तरी । मधेशमा चन्द्रमासले कात्तिक टेकेपछि यहाँका अति विपन्न डोम र बिन जाति समुदायको बस्तीमा चहलपहल बढ्छ ।
हरेक वर्ष कात्तिक सुरु भएपछि यी समुदायका बस्तीमा बाँसका चोयाबाट निफननाफन र राखनधरनका सामान बनाउने व्यस्तता बढेको छ । उनीहरू चङेरा, ढकी, छिटी, नाङ्लो, चाल्नो, हातेपङ्खा र कोनियाजस्ता सामग्री दीपावली र लगत्तैको छठमा बिक्री हुने आशमा मधेशका मानिस सामान बनाउन व्यस्त भएका हुन् । कात्तिक कृष्णपक्षमा यस भेगका यी दुवैसमुदाय बाँससँगै खेल्छन् ।
अब चाडबाड नजिकिएपछि आफ्नो काममा भ्याइनभ्याइ परेको बाँसका चोयाबाट राखनधरनका सामान बनाउनेहरु बताउँछन् । “कात्तिक अन्हरिया (कृष्णपक्ष) को छ दिन त भइ हाल्यो, अब त दीपावली कति छ र ? अनि त्यसलगत्तै छठ । यी पर्वमा हाम्रो सीप बिक्ने आशमा अहिले बाँससँग खेल्दैछौ” भङ्गगाहा–४ रामनगरका केशो मुखिया बिन भन्छन्, “वर्षभरिको नगद खर्चको भर यिनै पर्वमा टिकेको हुन्छ ।” बिनजस्तै महोत्तरीका डोमहरुका झुपर बस्तीमा पनि अहिले बाँसका कप्टेरा/ चोया काढ्ने र मागअनुसारका सामान बनाउने व्यस्तता बढेको छ ।
बाँसका चोयाबाट बन्ने यी सामान दीपावलीमा पनि बिक्री त हुन्छन् , तर मुख्यचाहिँ छठकै माग हुने गौशाला–१२ पडरियाकी अञ्जली मरिक बताउछिन् । सामान्यतया छठका बर्तालुले आवश्यकताका सामान बनाइदिन पहिले नै भन्ने गरेका हुन्छन् ।
तर ग्राहकको पूर्वमागबाहेक पनि चोयाबाट बन्ने यी सामान बिक्री हुने आशमा अहिले डोम र बिन समुदाय बाँस खोज्ने र चोया काढ्ने काममा परिवार नै लागेका छन् । कात्तिकको पहिलो पक्ष डोम र बिन समुदायको कैयौं महिनाअघिदेखिको छोराछोरीको माग पूरा गर्ने सपना साचिएको समय हो । घरमा छोराछोरी र परिवारजनले गर्ने ‘फर्माइस’ घरमूलीले कात्तिक लाग्न देउ भनेर थमाएका हुन्छन् ।