रौतहट । पुरानै शैलीको ठगीको सिकार बन्दै, रौतहट जिल्लाका महिलाहरूले लाखौँको सुनचाँदीका गरगहना गुमाएका छन् ।
भारतबाट भाँडाकुँडा बोकेर आएको समूहले महिलाहरूलाई प्रलोभनमा पारेर ठगी गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनाअनुसार जिल्लाको सीमावर्ती गाउँहरू गौर, मिठुअवा, खेसरहिया, महादेवपट्टीलगायतका स्थानमा भारतीय महिलाहरूको एक समूहले सुनचाँदीका महँगा गरगहना ठगी गरेका हुन् ।
ठगी गर्ने महिलाहरूले विभिन्न प्रलोभन देखाउँदै गरगहना दोब्बर बनाइदिने, थपमा नगद र उपहारसमेत दिने भन्दै महिलाहरूको बहुमूल्य गरगहना लिएर फरार भएको प्रहरीको भनाइ छ । ठगीमा संलग्न महिलाहरूले स्थानीय महिलाहरूलाई पायल, विच्छिया, र मङ्गलसूत्र जस्ता गरगहनाहरू दिएर अर्को दिन दोब्बर र थप उपहार दिने भन्दै लुटेको प्रहरीको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेका अनुसार ठगीको घटनाले जिल्लामा ठूलो क्षति पुर्याएको छ । ‘५० लाख रुपैयाँभन्दा बढीको गरगहना ठगी भएको अनुमान छ,’ उनले भने । प्रहरी कार्यालयले अहिलेसम्म कुनै औपचारिक उजुरी प्राप्त नभए पनि ठगी गर्ने समूहको खोजी तीव्र पारिएको छ ।
प्रहरीले तिहार र छठजस्ता चाडपर्वको अवसरमा ठगीको जोखिम अझ बढ्न सक्ने चेतावनी दिंदै, स्थानीयलाई सचेत रहन अनुरोध गरेको छ । ‘यस्ता ठगी गर्ने व्यक्तिहरू देखिएमा तुरुन्तै प्रहरीलाई जानकारी दिन हामीले आग्रह गरेका छौँ,’ प्रहरी उपरीक्षक घिमिरेले भने ।
प्रहरीले ठगीमा परेका केही महिलाहरूले घटनामा संलग्न दुई जनाको तस्बिर उपलब्ध गराएको बताए पनि ठगहरूको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार ठगी गर्ने महिलाहरूले मिठो बोल्ने, नजिक भएर विश्वास जित्ने र जिउमा हात राख्दै महिलाहरूलाई सम्मोहित गर्ने जस्ता क्रियाकलाप गरेर ठगी गरेका छन् ।
मधेस प्रदेशका अन्य सीमावर्ती जिल्लाहरूमा पनि यस्ता घटनाहरू हुन सक्ने भन्दै, प्रहरीले स्थानीयलाई सजग हुन र यस्ता प्रलोभनबाट जोगिन आग्रह गरेको छ ।
प्रहरीको अनुरोध
यदि कसैले भाँडाकुँडा बेच्ने बाहानमा यस्ता प्रलोभन देखाउँदै छ भने तत्काल जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल नम्बर १०० वा ९८५५०४०९९९ मा खबर गर्न आग्रह गरिएको छ।