काठमाडौं– धादिङमा एउटा सामूहिक बलात्कारको घटना भित्रभित्रै आर्थिक लेनदेन गरि मिलापत्र गराइएको खुलाशा भएको छ । लेनदेनमा मिलाईएको यो घटना अहिले उच्च अदालत पाटनसम्म पुगेपछि अभियुक्त विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बलात्कारको घटनामा एक वडाध्यक्ष समेत सामेल भएपछि उनी समेत अदालतको फरार अभियुक्तको सूचीमा छन् । नेकपा एमालेका तर्फबाट गल्छी गाउँपालिका वडा नम्बर १ बाट निर्वाचित वडाध्यक्ष यदु कुमार खतिवडा नै बलात्कार घटनामा प्रतिवादी भई फरार सूचीमा रहेको पाइएको हो ।
बलात्कारको घटना तत्कालिन प्रहरी प्रमुख गौतम कुमार केसी र सरकारी वकिल कार्यालयमा न्यायधिवक्ता दशरथ पंगेनीको मिलेमतोमा घटना दबाएर लेनदेनमा मिलापत्र गराइएपनि उनीहरुविरुद्ध कुनै कारबाही समेत भएको छैैन ।
कार्यक्षमतामा कमजोर भएकै कारण तत्कालिन प्रहरी उपरिक्षक केसी प्रधानकार्यालय हाजिर भएका छन् । उनै केसीको पालामा एउटा सामुहिक बलात्कारको घटना लेनदेनमा परिणत भएको पाइएको हो ।
पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी अनुसार २०७९ असोज २२ गते बेलुका ८ गल्छी गाउँपालिका वडा नम्बर १ फोर्सेटारस्थित बा १७ च ९७६३ नम्बरको बोलेरो पिकअप भ्यानभित्र रामकुमार खतिवडा र प्रविन गौतमले पालैपालो जबरजस्ती करणी गरेका थिए ।
करणीपश्चात रामकुमारले आफ्नै छोरा रन्जन खतिवडाको साथमा यो नानीलाई गल्छी पुर्याइ आइज भन्दै गाडी चढाएर पठाएका थिए । तर रन्जनले पनि ती किशोरीलाई केही पर पुर्याएर जबरजस्ती करणी गरेको आरोप जाहेरीमा छ । बलात्कार गर्नुअघि रन्जनले मारेर त्रिशुलीमा फाल्दिने धम्की दिएको पीडितको जाहेरीमा उल्लेख छ ।
रन्जनको अन्तिम करणीपश्चात आफ्नो पेटमा गर्भ रहन गएको र उक्त विषय जानकारी गराउँदा बाहिर नल्याउन र बच्चा र तिम्रो लागि काठमाडौंमा घर बनाइदिने आश्वासन खतिवडा समुहले दिएका थिए । उनीहरुले पीडित महिलालाई विषय बाहिर नल्याउन भन्दै चेक समेत दिएका थिए ।
तर, २०८० असार ३ गते उनको पेटमा भएको बच्चा जन्मियो । बच्चा जन्मिएको ७ महिनापछि प्रतिवादी मध्येकै रन्जनकै बाबु समेत रहेका रामकुमार खतिवडासँग पीडितले छलफल गर्दा उनीहरुबीच झगडा समेत भएको थियो ।
सोही झगडामा मिसिएका वडाध्यक्ष यदुकुमार खतिवडाले पीडित युवतीलाई बलात्कार अभियुक्तलाई कारबाहीकालागि प्रहरीलाई सुचना दिनुको सट्टा मिलापत्र गराउन दबाव दिए । प्रहरीमा राजकुमारले दिएको बयान अनुसार वडाध्यक्ष यदुकुमारले समेत पीडितलाई २३ लाख ५० हजार रुपैयाँको चेक दिएका थिए ।
सोही घटना मिलापत्र गराउन सहयोग गरेको भन्दै प्रहरीमा पीडितले वडाध्यक्ष खतिवडा विरुद्ध समेत जाहेरी दिएकी हुन् । वडाध्यक्ष खतिवडाले प्रहरीमा दिएको बयानमा आफूलाई काका नाता पर्ने रामकुमार खतिवडाले गल्छी रिसोर्टमा बोलाएको र त्यहाँ मलाई जसरी पनि पैसा चाहियो भन्दै रकम माग गरेपछि २३ लाख ५० हजार रुपैयाँ दिएको स्विकार गरेका छन् ।
त्यतिबेला छलफलमा बलात्कारपछि छोरा जन्मिएको विषयमा समेत चर्चा भएको यदुकुमारले स्विकार गरेका छन् । तर, उनले बलात्कारपीडित महिलालाई पटकपटक गरेर २० लाख ५० हजार रुपैयाँ पठाएको समेत यदुको दाबी छ । तर, प्रहरीले फरार सुचीमा राखेको खतिवडालाई हिरासतमा नराखी घटनाविवरण कागजमा मात्रै बयान लिइएको छ ।
जबरजस्ती जबरजस्ती करणीबाट बच्चा समेत जन्मिएको घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान प्रतिवेदन नै कमजोर बनाएर सरकारी वकिल समक्ष लगेको र सरकार वकिल कार्यालयले गत असोज १५ गते मुद्दा नचलाउने निर्णय गरेको पाइएको छ ।
सोही मुद्दा नचलाउने निर्णय विरुद्ध पीडित पक्षले उच्च् अदालत पाटनमा मुद्दा हालेको थियो । उच्च अदालत पाटनले बलात्कारको घटना घटित भएको मितिबाट नै पीडितलाई नै प्रस्तुत घटना लुकाउन छिपाउनका लागि वडाध्यक्ष यदु कुमार खतिवडा समेत लागि परेको अवस्थामा शंकितहरु उपर धादिङ जिल्ला अदालतमा अभियोजन गर्ने गरि यसअघि सरकारी वकिल कार्यालयले गरेको मुद्दा नचलाउने निर्णय बदर गरिदिएको छ । गत असोज १८ गते नै यो आदेश अनुसार प्रहरीले फेरी जिल्ला अदालत धादिङमा अभियोग पत्र भने दर्ता गरेको छ ।
बलात्कार घटनामा संलग्न, खतिवडा सहित उनका २३ वर्षिय छोरा रन्जन र प्रविन गौतम विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यस्तै वडाध्यक्ष यदु कुमार खतिवडा पनि फरार सुचीमा छन् ।
वडा अध्यक्ष खतिवडा सम्पर्कवीहिन
अदालतको फरार सुचीमा रहेका गल्छी गाउँपालिका १ का वडाध्यक्ष यदु कुमार खतिवडा अहिले आफ्ना सबै मोबाइल स्विच्ड अफ गरि सम्पर्कविहिन भएका छन् । स्रोतका अनुसार उनी मोबाइल अफ गरेर वडाको नियमित काममा भने कार्यालयमै आइरहेका छन् ।