पाँच वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषणा भएको बाराको महागढीमाई नगरपालिकाको मुसहर बस्तीमा बल्ल शौचालय निर्माण भएको छ ।
सरकारले हचुवाको भरमा खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि विपन्न मुसहर बस्तीका नागरिक शौचालयविहीन थिए । महागढीमाई वडा नं २ को मुसहर बस्तीमा शौचालय नहुँदा केही महिना अघिसम्म त्यहाँका बासिन्दा खेतबारी, खोलानाला, झाडीमा शौच गर्न जाने गर्दथे ।
मुसहर बस्तीकी फुनदेवी पासवानले शौचालय नभएका कारण आफूहरू खुला स्थानमा शौच गर्न जाने गरेको तर नगर प्रहरीले लखेट्ने गरेको सुनाइन् । महागढीमाई नगरपालिकाले २०७५/०७६ मै आफ्नो मातहतका ११ वटा वडालाई खुला दिसामुक्त घोषणा गरेको थियो ।
खुला दिसामुक्त पालिका घोषणा गर्नुअघि नगरपालिकाले अति गरिब, विपन्न र दलित बस्तीमा शौचालय निर्माणका लागि रिङ, सिट प्यानलगायतका आवश्यक सामग्री निःशुल्क वितरण गरेको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताए ।महागढीमाई नगरपालिका बारा नगरप्रमुख उपेन्द्र यादव
पछिल्लो समय नगरप्रहरी खटाएर खेतबारी, खोलानालामा शौच गर्नेलाई समातेर ल्याउने र सम्झाएर पठाउने गरेको कारणले शौचालय निर्माण अभियानले गति लिएको छ । हालै वडा–२ को मुसहर बस्तीमा इस्लामिक रिलिफ क्यानडा र इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा जनजागरण युवा क्लब कलैयाले शौचालय र स्नान घर बनाएर त्यसको प्रयोगबारे सचेतना गराएको थियो ।
उनीहरूले पछिल्लो समय शौचालयको प्रयोग गर्ने, स्नानघरमा नुहाउने, आफू र आफ्नो वरपर सरसफाइ गर्न थालेका छन् । जनजागरण युवा क्लब कलैयाले सो मुसहर बस्तीका ४६ घरधुरीमा शौचालय, पिउने पानीको धारा र ठाउँ ठाउँमा सामूहिक स्नानघर निर्माण गरेको छ । मुसहर बस्तीकी कलहीदेवी राम एक÷डेढ वर्ष अघिसम्म गाउँमा यत्रतत्र फोहोर र दुर्गन्ध हुने गरेको बताइन् ।
करिब १४ हजार घरधुरी, ५८ हजार जनसंख्या रहेको महागढीमाई नगरपालिकामा १७ देखि १८ प्रतिशत दलित बस्ती रहेको नगरप्रमुख उपेन्द्र यादवले बताए । उनले शौचालय नभएका दलितहरू बस्तीहरूमा नगरपालिकाले पुनः सहयोग गरेर शौचालय निर्माण गरिने बताए ।