वीरगञ्ज। तिहार पर्वलाई लक्षित गर्दै अखाद्य पदार्थ प्रयोग गरी लड्डु उत्पादन गरिरहेका दुई लड्डु उद्योगमा आइतबार बजार अनुगमन समितिले छापा मारेर सिलबन्दी गरेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगञ्जका प्रमुख सुनिल चौरसियाको नेतृत्वमा श्रीपुर र रानीघाटका दुई स्थानमा सञ्चालनमा रहेका उद्योगहरूमा छापा मारिएको हो।
अनुगमन टोलीमा सहभागी जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि गौरीशंकर गुप्ताका अनुसार श्रीपुर र रानीघाटमा घर भाडामा लिएर भारतीय नागरिकद्वारा सञ्चालनमा रहेका ती उद्योगहरूमा अखाद्य रसायन, रंग, बेसनको सट्टा कनिका र गहुँको पिठोको प्रयोग गरी लड्डु उत्पादन भइरहेको पाइएको छ
श्रीपुरमा बिहार, जमुईका निरज यादव र रानीघाटमा सोही स्थानका वीरेन्द्र यादवले नेपाल सरकारको अनुमति बिना नै स्वास्थ्यमा हानिकारक खाद्य वस्तुको उत्पादन गरिरहेका थिए।
गुप्ताका अनुसार सोधपुछका क्रममा ती भारतीय नागरिकहरूले उत्पादन गरिएको कमसल गुणस्तरको लड्डु वीरगञ्जका मिठाइ पसल र होटलहरूमा प्रतिकिलो १५० रुपैयाँमा बेच्ने गरेको बताएका छन्।
नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नभएका र अनाधिकृत रूपमा सञ्चालन गरिएका यी उद्योगहरूलाई तत्काल सिलबन्दी गरिएको छ। साथै, श्रीपुरको उद्योग सञ्चालक निरज यादवलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ। रानीघाटका सञ्चालक वीरेन्द्र यादवको हकमा थप कारबाहीको निर्णय अनुगमन समितिको बैठकपछि गरिने गुप्ताले जनाएका छन्।
त्यसैगरी, मूर्ली चोकस्थित क्षीर सागर होटलमा पनि अनुगमन गर्दा त्यही अखाद्य लड्डु बिक्रीको लागि राखिएको अवस्थामा भेटिएपछि होटल सञ्चालकलाई पनि २० हजार रुपैयाँ जरिवाना गरिएको छ।
अनुगमन टोलीमा वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष रचेन्द्र थापा, उपभोक्ता हित संरक्षण मञ्चका अजित भुजेल, वीरगन्ज उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधिहरूको समेत सहभागीता रहेको थियो।