बेरुत — लेबनानको पूर्वी बेका उपत्यकामा इजरायलले गरेको आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा दुई बालबालिका छन् ।
हेजबुल्लाहको गढ रहेको बालबेक क्षेत्रका विभिन्न १६ स्थानमा इजरायली सुरक्षा बल (आईडीएफ) ले गरेको आक्रमणमा ५८ जना घाइते भएका छन् । घटनाबारे इजरायली सेनाले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन । इजरायलले विगत पाँच सातायता हेजबुल्लाहका सैन्य आधार तथा हातहतियारलाई लक्षित गर्दै लेबनानभर सयौं हवाई हमला आक्रमण गर्दै आएको छ ।
बालबेकका गभर्नर बाची खोडरका अनुसार आईडीएफले मंगलबार गरेको आक्रमणका एक महिना यताकै हिंसात्मक भएको बीबीसीले उल्लेख गरेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियामा आक्रमणलगत्तै भवन र जंगलमा आगलागी भएको देखिएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आईडीएफले सोमबार गरेको हवाई आक्रमणमा तटीय सहर टायरमा ७ जनाको ज्यान गएको थियो भने १७ जना घाइते भएका थिए । आइडीएफले सर्वसाधारणलाई टायर छाड्न छोड्न चेतावनी दिएको छ ।
हेजबुल्लाहले सोमबार लेबनानको दक्षिणी सीमामा इजरायली सेनासँग भिडन्त भएको र हाइफा नजिकै इजरायली क्षेत्रको नौसैनिक आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको थियो ।
प्यालेस्टिनी समूह हमासले दक्षिणी इजरायलमा सन् २०२३ को अक्टुबर ७ मा गरेको आक्रमणको भोलिपल्ट लेबनानी समूह हेजबुल्लाहले उत्तरी इजरायल र वरपरका क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेपछि आईडीएफ र हेजबुल्लाहबीच युद्ध सुरू भएको हो । तर पछिल्लो समय हेजबुल्लाहलाई आक्रमण गर्न लेबनान प्रवेश गरेसँगै दुई पक्षबीच युद्ध चर्केको हो ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आईडीएफको आक्रमणमा लेबनानमा २ हजार ७ सय जनाको ज्यान गइसकेको छ । १२ हजार ४ सयभन्दा बढी घाइते भइसकेका छन् । द्वन्द्वका कारण १३ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका लेबनान सरकारले जनाएको छ ।