काठमाडौं- आज कार्तिक १४ गते बुधवार काग तिहार वा कागपूजा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन हो । यस दिन कागको पूजा गर्ने गरिन्छ । काग कालो रङ्गको एक चराको नाम हो ।
यसलाई हिन्दी भाषा, तथा नेपालको तराई प्रदेशका भाषाहरू कौवा भनिन्छ । कागलाई संस्कृतमा काक भनिन्छ । तिहारमा (यम पञ्चकमा) पहिलो दिन कागको पूजा हुन्छ । कागलाई सबै चराहरूको बिचमा चतुर र चलाख पंक्षी मानिन्छ ।
ज्योतिष शास्त्रकानुसार कागलाई पूर्व सूचना दिने पंक्षीका साथै एक सन्देश वाहक पंक्षी पनि मानिएको छ । कागहरू धेरै प्रजातीका हुन्छन् ।
हाम्रो मुलुकमा दुई थरिका कागहरू प्रायः भेटिएका छन्, काले काग र माले काग भनिन्छ कागको एउटा आँखा मात्र हुन्छ । यो सत्य पनि हो कागको आँखा दुईटा भए पनि एउटा आँखाले मात्र काम गरेको हुन्छ । हिन्दू मान्यताका अनुसार कागलाई विभिन्न तान्त्रीक तथा ज्योतिष प्रयोगमा ल्याइन्छ । कागहरु नेपाल लगायत का थुप्रै देशहरूमा पाईन्छन् ।
कतिपय ठाउँमा यदि कसैलाई चलाख र चतुर भन्नु पर्यो भने ‘कस्तो काग रैछ’ पनि भनिन्छ । यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिइ काग तिहार मनाउने गरिन्छ ।
कागोऽसि यमदूतोऽसि वायोसोकसी माहामते । ईहं बलिं गृहाण त्वां त्रायस्व यमसङ्कटात् ।। अर्थात–हामीले दिएको खानेकुरा खाएर प्रशन्न होऊ यमदण्डरुपी संकटबाट मूक्ति दिलाउ । कागलाई यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।
यो दिन कागलाई पूजा नगरी र खान नदिए पापकोभागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।