तिहार पर्वको बेलामा देशका औद्योगिक प्रतिष्ठानहरूलाई अन्धकारमा राखेको भन्दै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले कडा विरोध जनाएको छ। संघका अध्यक्ष मोहन शर्मा लामिछानेले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै उज्यालो पर्व दिपावलीको समयमा उद्योगहरूको बिजुली लाइन काट्ने नेपाल विद्युत प्राधिकरणको कदम सच्याउन माग गर्नुभएको छ।
डेडिकेटेड र ट्रंक लाइनको विवाद पुरानो भएको र यो समस्या समाधानका लागि उद्योगीहरूले वार्ता तथा सहमतिको माध्यम अपनाएको भए पनि सरकारले बारम्बार उद्योगीहरूको आग्रहलाई बेवास्ता गरेको अध्यक्ष लामिछानेको भनाइ छ।
“सरकार र नेपाल विद्युत प्राधिकरणको पछिल्लो कदमले जीतपुरसिमरा उपमहानगरभित्रका चार ठूला उद्योगहरू, जसमध्ये जगदम्बा स्टिल लिमिटेड, हुलास स्टिल लिमिटेड, हामा आइरन र अशोक स्टिल इन्डष्ट्रिज रहेका छन्, प्रत्यक्ष मारमा परेका छन्। रोजगार र कुल ग्राहस्र्थ उत्पादनमा योगदान गरिरहेका उद्योगहरूलाई एकपक्षीय रूपमा बिजुली कटौती गर्नु निन्दनीय हो,” अध्यक्ष लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
देशमा व्यवसाय गर्ने वातावरण निर्माण गर्नुपर्ने बेलामा उद्योगी तथा व्यवसायीमाथि निरन्तर आक्रमण भएको र यसले उद्योगीहरूमा त्रास फैलाएको विज्ञप्तिमा भनिएको छ। यसै सन्दर्भमा, उद्योग व्यवसायमा गरिएको लगानीको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने र बारम्बार हुने यस्ता आक्रमणले लगानी पलायनको खतरा बढाएको उल्लेख छ।
“जीतपुरसिमराका चार उद्योगसहित देशभर बिजुली लाइन काटिएका सबै उद्योग प्रतिष्ठानमा विद्युत् पुनःस्थापना गरी उद्योगमैत्री वातावरण निर्माण गर्न हामी विद्युत प्राधिकरणलगायत सम्बद्ध निकायसँग माग गर्दछौं,” संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।