रौतहट । सवारी साधन चालक अनुमति पत्रको लागि यातायात व्यवस्था कार्यालय गौरको ट्रायल स्थलमा मङ्गलबार पुगेका २० जना भन्दा बढी परीक्षार्थी परीक्षा दिन बाट वञ्चित भएका छन् ।
उनीहरु लाई यातायात व्यवस्था कार्यालय गौरले सर्भर क्रासको नाममा गलत सूचना दिँदा परीक्षा दिन बाट वञ्चित भएका हुन ।परीक्षाको मिति भोलिपल्ट भनेर अघिल्लै दिन परीक्षा लिएका कारण उनीहरु परीक्षा दिनबाट वञ्चित भएका हुन ।
परीक्षा दिनबाट वञ्चित भएका परिक्षार्थीहरुको भनाई एउटै रहेको छ सेटिङ्ग नमिलेका कारण हामी परीक्षा दिनबाट वञ्चित भएका हौ । सवारी चालक अनुमति पत्रको परीक्षा दिन जिल्ला र जिल्ला बाहिरबाट परीक्षार्थी आउने गरेका छन् । ड्राईभिङ सेन्टरका प्रतिनिधि र बिचौलिया संग सेटिङ्ग भए मात्र सवारी चालक अनुमति पत्रको परीक्षामा सहभागी हुने रहेछन् हामीलाई सर्भरको कारण अघिल्लै दिन परीक्षाको सूचना टाँस गरेको भनेर फर्काइयो एक परीक्षार्थीले बताए ।
गौर जान आउन मात्र हामीले दुःख पायौ । परीक्षा दिन बाट वञ्चित भएका परीक्षार्थी केही बेर आक्रोशित भएका थिए । प्रयोगात्मक परीक्षा दिन समेत सिण्डिकेट रहेको छ । प्रयोगात्मक परीक्षा दिन जाने परीक्षार्थीले ट्रायल स्थलमा रहेको सन्ध्या मोटर ड्राईभिङ्ग एण्ड सेन्टर राजदेवी–२ लाई पाँच सय रुपैयाँ बुझाएपछि मात्रै यसले प्रदान गर्ने अल्टो र मारुती भ्यान बाट परीक्षा दिन बाध्य पारिएको छ ।
सवारी चालक अनुमति पत्रको परीक्षामा चालक प्रशिक्षण केन्द्र, ट्राफिक प्रहरी र यातायातका कर्मचारीको मिलमतोमा आर्थिक अनियमितता मौलाएको आरोप लागेको छ । सबै भन्दा बढी आर्थिक अनियमितता हुने आरोप खेप्दै आएको यातायात व्यवस्था कार्यालयले सवारी प्रशिक्षण केन्द्र र बिचौलीया सँगको सेटिङ्मा मोटरसाईकल र स्कुटीको लागि १० देखि १५ हजार र जीप र कारको लागि ३० हजार सम्म असुली धन्दा गरिरहेको स्वयम परीक्षा दिएका परीक्षार्थीले बताउने गरेका छन्।
ट्रायल स्थलमा परीक्षार्थी बाहेक अन्य लाई जान वञ्चित गरिएको छ । सेडुअल गर्ने समयमा सर्भर क्रस भएकाले दुई दिन अघिनै यातायात व्यवस्था कार्यालय गौरले कार्तिक १२ गते थप सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा र १३ गते नयाँ परीक्षार्थीको लागि परीक्षाको सूचना गरेको एक कर्मचारीले बताए ।
उता सेटिङ्गमा भएका परिक्षार्थीलाई तोकिएको परीक्षा मितिको जानकारी दिने र सेटिङ्ग नमिलेकालाई यातायात व्यवस्था कार्यालयले सर्भर क्रासको बहानामा परीक्षा दिन बाट वञ्चित गराउने गरेको पाइएको छ । यातायात व्यवस्था कार्यालय गौरका प्रमुख जीतेन्द्र गुप्तासँग यस विषयमा बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् ।