काठमाडौं, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
आज विहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा पार्टी एकतामा केन्द्रित रहेर गम्भीर छलफल भएको जनाइएको छ । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्दै भेटवार्ता गरेका नेता विश्वकर्मा आज प्रचण्डसँग भेटवार्ताका लागि खुमलटार पुगेका हुन् ।
उक्त भेटमा पछिल्ला समसामयिक राष्ट्रिय राजनीति लगायत प्रचण्ड नेतृत्वको सरकारसँग गरेका समाजवादी मोर्चाले नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहितका एजेन्डा कार्यान्वयनका विषयमा समेत छलफल भएको जनाइएको छ ।
यसअघि कार्तिक १४ गते बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भएको भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । भूमिगत राजनीतिमा रहेको नेकपा प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा शान्तिपूर्ण रुपमा मुलधारको राजनीतिमा आएको थियो ।
गत वर्ष असार ४ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दल मिलेर समाजवादी मोर्चा नेपालको घोषणा भएको थियो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने, वर्गीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्रमुख प्राथमिकता राख्ने, जनताको नागरिक तथा आर्थिक अधिकारको संरक्षण, वित्तीय एकाधिकार तथा दलाल पूँजीवादी अर्थव्यवस्थाको विकल्पमा समाजवादी अर्थतन्त्रको आधार तयार पार्ने मोर्चाको उद्देश्यसहित घोषण भएको मोर्चाको अवधारणा र उदेश्य अनुसारका एजेन्डा कार्यान्वयन नभएको जनाउँदै नेता विश्वकर्माले पछिल्लो समय प्रमुख राजनीतिक दलका शिर्ष नेताको घरदैलोमा पुगेर भेटवार्ता र छलफल जारी राखेका छन् ।
मोर्चाको अवधारणापत्रमा आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पूँजी र प्रविधि सहित फर्केका नेपालीलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने र गरीबी उन्मूलन र रोजगार प्रवर्द्धनको क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारलाई क्रियाशील बनाउने लगायतका विषय उल्लेख गरिएको थियो ।