पोखरा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार अदालतमा लगिने भएको छ ।
कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका उनलाई कास्की जिल्ला अदालतमा मंगलबार लगिने भएको हो । उनको गत १४ गते बुधबार हिरासतमा बस्नका लागि लिइएको समय सकिएको भए पनि तिहारको सार्वजनिक बिदाका कारण अदालतमा समय थपका लागि लैजान नसकिएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा पटक पटक बयान लिएको छ । उक्त बयान सकिएको जनाइएको छ । बयान सकिए पनि अनुसन्धान भने जारी रहेको छ ।
सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ । कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो ।
शुरुमा ६ दिन र त्यसपछि कार्तिक ८ गते कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।
कास्की प्रहरीले समय थपका लागि अदालतमा पेश गर्ने भए पनि उनलाई रुपन्देही जिल्ला प्रहरी कार्यालयलेसमेत पक्राउ पुर्जी जारी गरेकाले त्यहाँसमेत पठाइने छ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका कारण २० गतेपछि उनलाई रुपन्देही लैजान लागिएको हो ।
कास्की प्रहरीको बयान सकिएकोले अब लामिछानेलाई म्याद थप गरेर तिहारपछि रुपन्देही लैजाने बताइएको छ ।
उनीमाथि काठमाडौँ प्रहरीलेसमेत स्वर्णलक्ष्मी सहकारीबाट रकम लिएको र उक्त रकम ठगी गरेको देखिएपछि अनुसन्धान गरिरहेको छ ।
तिहारपछि काठमाडौँ प्रहरीलेसमेत पक्राउ पुर्जीका लागि अदालत जानेसमेत बताइएको छ । त्यतिमात्र होइन उनको नाम जोडिएका अन्य सहकारीमासमेत पैसा हिनामिना भएको भन्दै अनुसन्धान चलिरहेको अदालतले जनाएको छ ।