वीरगञ्ज। पर्साको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल दुग्धेश्वर महादेवको मन्दिर (भाथा धाम) क्षेत्रको सौन्दर्यकरण र पूर्वाधार विकासका लागि नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई ज्ञापनपत्र बुझाइएको छ।
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका-१ मा अवस्थित दुग्धेश्वर महादेवको मन्दिरलाई धार्मिक स्थलको रूपमा महत्व दिइन्छ। यस मन्दिर क्षेत्रमा प्रत्येक साउन महिनामा भव्य मेला लाग्ने र नेपाल-भारतका लाखौं भक्तजनहरूले यो स्थलमा पूजाआजा गर्न आउने गर्छन्। अन्य महिनामा पनि भाथा धाममा मेलासँगै धार्मिक गतिविधिहरू भइरहन्छन्।
शनिबार वीरगन्जस्थित मन्त्री यादवको निवासमा जसपाका नेता दीपक यादव र भाथा मेला समितिको टोलीले मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएको हो। मेला समितिले भाथा धाममा तिर्थालुहरूको सुविधाका लागि स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, र अन्य पूर्वाधार निर्माणको माग राख्दै मन्त्री यादवसँग पहल गरिदिन आग्रह गरेको छ।
ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री यादवले छठ पर्वपछि मन्त्रालय र सरकारी कार्यालयहरू खुल्ने बित्तिकै भाथा धाममा प्राविधिक टोली पठाएर आवश्यक पूर्वाधारको योजना बनाइने प्रतिबद्धता व्यक्त गरे।
ज्ञापनपत्र बुझाउन गएको टोलीमा जसपाका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनलाल चौधरी, पूर्व प्रदेश सभा सदस्य प्रहलाद गिरी, जन्नत अंसारी, वडा अध्यक्ष फरमान अन्सारी, जसपाका अन्य नेताहरू दीपक यादव, नागेन्द्र यादव, विश्वनाथ महतो थारु, माधव साह, प्रभाकर मिश्रा, मेला समितिका रामेश्वर राउत, द्वारिका उपाध्याय, गेनालाल पटेल र तेजा पञ्जियार लगायतको उपस्थिति थियो।
भाथा धामको संरचना विकास र धार्मिक पर्यटन प्रवर्धनका लागि यस पहललाई महत्वपूर्ण मानिएको छ।