विश्वशक्ति अमेरिकाको राष्ट्रपति निर्वाचनले अहिले विश्वकै ध्यान केन्द्रित गरेको छ । नोभेम्बर ५ मा हुने ६० औं निर्वाचनले अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित गर्नेछ ।
राष्ट्रपतिका लागि वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपव्लिकन पार्टीबाट उम्मेदवार छन् ।
सन् १७७६ मा स्वतन्त्र भए यताको करिब २४८ वर्षको अमेरिकी इतिहासमा ४६ जना पुरुषहरूले शासन गरेको परिवेशमा अहिले एउटा जबर्जस्त प्रश्न उठेको छ– के अमेरिकी नागरिकले यसपटक महिलालाई राष्ट्रपतिका रुपमा चुन्लान् ? के ४६ जना पुरुष राष्ट्रपतिको लहरमा अब महिला राष्ट्रपति देख्न पाइएला ?
अमेरिकाको इतिहासमा सन् १८७२ मा भिक्टोरिया उडहुल पहिलोपटक राष्ट्रपतिको उम्मेदवार बनेको देखिन्छ । साना पार्टीबाट छिटपुट उम्मेदवार बनेपनि लामो समयको अन्तरालपछि सन् २०१६ को निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट हिलारी क्लिन्टनले चुनावी प्रतिष्पर्धा गरेको पाइन्छ । लोकप्रिय मतमा अगाडि रहेर पनि उनले राष्ट्रपति चुनाव हारेकी थिइन् । पुन: एकkटक एक महिला राष्ट्रपति चुनावको प्रतिष्पर्धामा अगाडि आएकी छन् । यो सकारात्मक कदम हो ।
विकसित लोकतन्त्रको अभ्यास गरिरहेको मानिने अमेरिकाको राजनीति, कूटनीति, मानवअधिकार, लोकतन्त्र, अर्थतन्त्र, व्यापार व्यावसाय, विकास तथा प्रविधिमा विश्वव्यापी रुपमै वर्चश्व छ । यस्तो वर्चश्व कायम गरेको विश्वशक्ति अमेरिकाको राष्ट्रपति चुनावमा महिलाहरू प्रतिष्पर्धा आउनै नसक्नु, आएका पनि पराजित हुनु भनेको एउटा खोजीयोग्य बिडम्वना हो ।
यति लामो अवधिमा महिलाहरू राष्ट्रपतिको उम्मेदवार बन्नका लागि अग्रसर भएनन् कि बन्न दिइएन? उम्मेदवार भएकाहरू पनि किन पराजित भए ? अमेरिकी नागरिक, समाज र राजनीतिक दलहरुको भूमिका कस्तो रहयो ? यो वास्तवमै गम्भीर खोजीको विषय हो ।
महिलालाई हेर्ने दृष्टिकोणमा विश्वव्यापी रुपमै खोट छ । पितृसत्ताले गाँजेका पुरुषहरूको महिलालाई हेर्ने नजरिया सँधै पूर्वाग्रही देखिन्छ । मन, मष्तिष्क र नशा–नशामा पितृसत्ताको धङ्धङी बोकेर हिड्ने पुरुषहरूले आफूलाई सर्वोच्च, शक्तिशाली, पहिलो दर्जाका नागरिक तथा शासक वर्ग मान्छन् भने महिलालाई कमशल, शक्तिहीन तथा निरीह, दोस्रो दर्जाको नागरिक र शासित वर्गका रुपमा लिन्छन् ।
अधिकांश पुरुषहरूले वास्तविक शक्ति आर्जन गर्ने मुख्य क्षेत्रहरू जस्तो, ज्ञान, राजनीति, अर्थतन्त्र, धर्म र सामाजिक संरचना पुरुषका लागिमात्र बनेको र यसमा पुरुषहरूकोमात्र एकलौटी जन्मसिद्ध अधिकार भएको ठान्छन् । यही नै महिलालाई वञ्चितिकरणमा पार्ने र लैंगिक असमानता बढाउने मुख्य कडी हो ।
यति लामो अमेरिकी इतिहासमा महिला राष्ट्रपति उम्मेदवार नगन्य मात्र बन्नु र निर्वाचित हुनपनि नसक्नुले अमेरिकी समाज पनि यो भन्दा पृथक नभएको संकेत गर्छ ।
सन् २०१६ को निर्वाचनमा लोकप्रिय मतमा अगाडि हुँदाहुँदै पनि क्लिन्टन ट्रम्पसँग पराजित भएकी थिइन । राजनीति र कूटनीतिमा अनुभवी, सक्षम र प्रभावशाली ‘महिला’ हिलारीलाई पराजित गराएर अमेरिकी नागरिकले चरम दक्षिणपन्थी, जाती तथा नश्लवादी, अमेरिका पहिलो भन्ने पपुलिस्ट नाराबाट स्वेत अमेरिकीलाई प्रभाव पारेका ‘पुरुष’ ट्रम्पलाई विजयी गराएका थिए ।
उनीहरुले इतिहासमै पहिलो पटक महिला राष्ट्रपति पाउने अवसर गुमाएका थिए । हिलारीको पराजयमा धेरै कारण होलान् तर उनी महिला हुनु नै प्रमुख मध्येको एउटा थियो । सायद विश्वलाई नै नेतृत्व गर्ने अमेरिकाको नेतृत्व महिलाले गर्न सक्दिनन भन्ने संकीर्ण निष्कर्षका आधारमा अमेरिकीले उनलाई पराजित गरेका थिए ।
यसले आफ्नो परम्परागत वर्चस्व गुम्ने डर भएपछि पुरुषले महिलाको नेतृत्व र क्षमतालाई अस्वीकार गर्ने आम अभ्यास अमेरिकामा छ भन्ने पनि देखायो । साथै अमेरिकी नागरिक, त्यहाँको समाज, राजनीतिक दलहरुमा रहेको पछौटे तथा पित्तृसत्तात्मक सोचको पनि उजागर गर्यो । हिलारी जस्तो सक्षम, अनुभवी र शासक वर्गका महिलालाई समेत राष्ट्रपति बन्न कठिन हुने समाजमा गरिब, अश्वेत र सीमान्तवर्गका महिलालाई कति कठिन होला सहज अनुमान गर्न सकिन्छ ।
महिला अधिकारका बारेमा कुरा गर्दा प्रश्नहरु उब्जिन्छन्, लैगिंक समानता भनेको भाषणमा मात्र हो वा व्यवाहारमा पनि देखाउने हो ? यदी त्यस्तो हो भने व्यवहारमा कहिले देखाउने ? विकास भनेको खानु, लाउनु र अभिव्यक्ति स्वतन्त्रता मात्रै हो कि राज्यका सम्पूर्ण अंगमा महिला–पुरुष वा सवै समुदायको समान हिस्सेदारी हो वा निर्णय गर्ने तहमा समान भूमिका हो ? प्रष्ट हुनुपर्छ । के महिलालाई सुनको पिंजडामा राखेर चौरासी व्यन्जन खाना दिएर लैंगिक समानता र विकास हुन्छ ? यस्ता विषयमा प्रष्टता जरुरी छ ।
यस्तो परिवेशमा अमेरिकी नागरिकले कि अब महिलालाई राष्ट्रपतिमा निर्वाचित गर्नुपर्छ कि ‘प्रजातन्त्र’ भनेको पुरुषले मात्र शासन गर्ने ‘पुरुषतन्त्र’ हो भन्न सक्नुपर्छ । कि महिलाहरू पुरुषका तुलनामा कमजोर नै हुन्छन् र उनीहरूले शासन गर्न सक्दैनन् भन्ने भाष्यलाई पुष्टि गर्नुपर्छ । अनि विश्वव्यापी रुपमा लोकतन्त्र, लैगिंक समानता, मानवअधिकारको पाठ पढाउन छोड्नुपर्छ ।
तेस्रो विश्वका देशहरू भारत, पाकिस्तान, वंगलादेश, श्रीलंका, नेपाल तथा पहिलो विश्वका देशहरू फिनल्याड, न्यूजिल्यान्ड, वेलायत, फ्रान्स आदिले देशको प्रमुख तथा कार्यकारी पदमा महिलालाई निर्वाचित गरिसकेका छन् । यस्तो परिवेशमा मानवअधिकार, लोकतन्त्र र महिला अधिकार तथा लैंगिक समानताको वकालतकर्ता अमेरिकाले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता छ ।
महिला नेतृत्वमा पुग्दा आम महिलामा पक्कै पनि एउटा आशा र विश्वासको सकारात्मक सन्देश प्रवाह हुन्छ । महिला पनि सर्वोच्च पदमा पुग्न र काम गर्न सक्छन् भन्ने मान्यता स्थापित हुन्छ । तथापि आम रुपमा महिलाको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि भने नीतिगत, कानुनी र बजेटसँगै मानिसको सोच, विचार, दृष्टिकोण र व्यवहारमा आमूल परिवर्तन ल्याउन जरुरी छ ।
धार्मिक रुपमा शुरु भई सामाजिक मुल्य–मान्यता, संस्कार, संस्कृतिका रुपमा विकास भएको र सामाजिकीकरणको मुख्य विषयका रुपमा स्थापित भएको विभेदकारी पितृसत्तात्मक सोच परिवर्तन गर्न सहज छैन । सामाजिकीकरणको प्रक्रियानै विभेदकारी, गलत र नकारात्मक भएको हुँदा महिला त्यसमा पनि गरिब, एकल, तथा सीमान्तकृत महिलामाथि झन बढी विभेद र बञ्चितिकरण भएको पाइन्छ ।
यसैले घरपरिवारबाट नै सुरु हुने सामाजिकीकरणको प्रक्रियालाई न्याय, समानता र सम्मानको दृष्टिकोणबाट समय सापेक्ष बनाएर परिवर्तनको दिशामा अगाडि बढाउन आवश्यक छ । लैंगिक समानता तथा महिला अधिकारका लागि महिलालाई नेतृत्व तह र मुलत निर्णय प्रक्रियामा सहभागी गराउँदै महिला र पुरुष सँगै हिड्ने वातावरण तयार गरिनुपर्दछ ।
हिलारीको पराजयपछि महिला अधिकारकर्मीले भनेका थिए, इतिहासले दिएको अवसर खेर गयो । तर, ८ वर्षको छोटो अवधिमै पुन अमेरिकी जनताबीच अर्को अवसर आएको छ, महिलालाई राष्ट्रपतिमा निर्वाचन गर्ने । कमला ह्यारिसलाई निर्वाचित गर्दा महिला राष्ट्रपतिको इतिहासमात्र बन्ने छैन, एक परिक्षित व्यक्ति, नश्लवादी, जातीवादी, दक्षिणपन्थी पपुलिस्ट, संसद भवनमा समेत आक्रमण गर्ने र विभिन्न किसिमका मुद्दा खेपिरहेको एक विवादित पात्रबाट अमेरिकी समाजलाई थप विभाजन, अराजकता र द्वन्द्वबाट जोगाएर वास्तविक लोकतन्त्र, न्याय र समानतातर्फ लैजान समेत योगदान पुग्न सक्छ ।
महिला अधिकारका विभिन्न आन्दोलन र अभियानमा समेत अग्रणी भूमिका खेल्दै आएको अमेरिकी समाजले रुढीवादी, पछौटे र पितृसत्तावादी सोचलाई त्यागेर अग्रगामी र समानतामुखी सोचका साथ इतिहासको गल्तीलाई सच्याउनुपर्छ ।
एकपटक परिक्षित भइसकेका ट्रम्पका तुलनामा अमेरिकी इतिहासमा प्रथम महिला उपराष्ट्रपति समेत बन्न सफल ह्यारिस सक्षम भएको टिभी बहसले पनि स्पष्ट पारेको छ । अमेरिका लागि ट्रम्पले दिन सक्ने दिइसके, थप दिने केही देखिँदैन ।
बरु परिक्षित हुन बाँकी ह्यारिसले अमेरिकाका लागि थप गर्न सक्ने आधारहरू देखिन्छन् । राष्ट्रपतीय चुनावी बहसमा ह्यारिसको प्रस्तुति, उनको लामो अनुभव र उनले अगाडि सारेका अमेरिकाको विकास र समृद्धिका एजेन्डा वास्तवमा बहुसंख्यक अमेरिकीका लागि प्रभावकारी हुने देखिन्छ । अमेरिकी लोकतन्त्रको थप विकासका लागि मात्र हैन, बहुसंख्यक मध्यम तथा निम्न वर्ग, आप्रवासी र महिलाको प्रजनन अधिकारका लागि उनको जित आवश्यक देखिन्छ ।
उनको जितले महिला अधिकार र लैंगिक समानतामा ‘प्याराडाइम सिफ्ट’ हुन सक्छ । सिंगो विश्वमा सकारात्मक सन्देश प्रवाह भई अमेरिकाप्रतिको हेराईमा परिवर्तन आउन सक्छ । मुल कुरा अमेरिकाले एक महत्वपूर्ण इतिहास निर्माण गर्न सक्छ । के अमेरिकी नागरिक नयाँ इतिहास निर्माण गर्न तयार छन् ?