वीरगञ्ज । तिहार सकिएसँगै मधेसका विभिन्न जिल्लाहरूमा छठ पर्वको तयारी सुरु भएको छ। वीरगञ्जको प्रमुख धार्मिक स्थल घडीर्आवा पोखरी किनारमा यस वर्ष पनि आकर्षक छठ घाट निर्माणको काम थालिएको छ। स्थानीय व्रतालु तथा भक्तजनहरूका लागि यो पूजा स्थल विशेष महत्त्व राख्ने भएकाले भव्य रूपमा साजसज्जा सहित घाट निर्माण भइरहेको छ।
तयारीको क्रममा पोखरी किनारामा सरसफाइ, माटो सम्याउने, र सजावटको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। घडीर्आवा पोखरीसँगै रानीघाट, मुर्ली छपकैया, पिपरालगायत विभिन्न स्थानमा पनि छठ पर्वका लागि घाट निर्माण भइरहेको छ।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ। यो विधि कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि सुरु हुने बताइन्छ। व्रतालुहरूले छठ पर्वको विधि अनुसार कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजजस्ता तामसी खाद्य पदार्थ त्यागेर शुद्ध जीवनशैली पालन गर्न थाल्छन्। कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउ, र अन्य शुद्ध खाद्य पदार्थहरूबाट बनेको 'खरना' ग्रहण गर्छन्, जसलाई छठको एउटा विशेष विधिका रूपमा मानिन्छ।
छठ पर्वको मुख्य दिन यस वर्ष कार्तिक शुक्ल षष्ठीका दिन बिहीबार, अर्थात् कात्तिक २२ गते परेको छ। यो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ। भोलिपल्ट कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको समापन हुन्छ।
कृषि प्रधान नेपालको सन्दर्भमा छठ पर्वलाई विशेष रूपमा महत्त्वका साथ मनाइन्छ। यस अवसरमा नयाँ अन्नबाली देवतालाई अर्पण गर्ने चलन छ। पछिल्लो समय काठमाडौंसहित पहाडी क्षेत्रहरूमा पनि छठ पर्वको लोकप्रियता बढ्दो क्रममा छ।