एजेन्सी– पूर्वी इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन्। अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकीलाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।
ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याँक्न थालेपछि प्रभावित क्षेत्रका बासिन्दाले आफूहरू भयभीत भएको बताएका छन्।
इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट १० हजार २९५ जना प्रभावित भएको बताए। उनका अनुसार विस्थापितको सङ्ख्या अझै गणना भइरहेको छ।
एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखी नजिकैका घर बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ।
ज्वालामुखीनजिकै पाँचवटा गाउँ खाली गरिएका छन् भने हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन्।
ज्वालामुखीमामिला सुरक्षा निकायले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखी विस्फोट भएको (केन्द्रबिन्दु) को सात किलोमिटर दायराभित्र केहि गतिविधिहरू नगर्न निर्देशन दिएको छ।
पछिल्लो समयमा माउन्ट लेवोटोबी लाकीलाकीमा ज्वालामुखी गतिविधि बढेर घरहरूमा क्षति गरेपछि स्थानीय सामुदायिक भवनमा शरण लिएका छन्।
ज्वालामुखी सुरक्षा निकायले वर्षाले गर्दा लाभा बाढी आउन सक्ने चेतावनी दिदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयलाई मास्क लगाउन आग्रह गरेको छ।