सुप्रिम सहकारी पीडितहरूले भैरहवामा विरोध प्रदर्शन गरिरहेका छन्।
बुटवलमा प्रधान कार्यालय रहेको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा गएको र गोर्खा मिडियामा पूर्वप्रबन्धक समेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई यसै विषयमा बयानका लागि रूपन्देही ल्याएको समयमा सहकारी पीडितहरूले भैरहवामा विरोध प्रदर्शन गरिरहेका छन्।
सहकारीको रकम हिनामिनाको विषयमा लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयमा बयान चलिरहँदा सहकारी पीडित संघर्ष समितिले बाहिर प्रदर्शन गरेको हो।
समितिका संयोजक विजय नेपालले सहकारीको बचत रकम फिर्ता पाउनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै दबाब स्वरूप प्रदर्शन गरिएको जानकारी दिए।
यसअघि प्रहरीका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई बयानका लागि भैरहवा ल्याउँदा पनि पीडितहरूले प्रदर्शन गरेका थिए।
समितिका संयोजक नेपालले आफूहरूले कसैको विरोध नभएर आफ्नो न्यायको लागि प्रदर्शन गरेको बताए।
प्रदर्शनकारीले बचत रकम फिर्ता गर, हाम्रो रगत–पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जिबी राईलाई पक्राउ गर लगायतका प्लाकार्ड सहित कालो ब्यानर बोकेर बुद्धचोकमा प्रदर्शन गरिरहेका छन्।
उनीहरूले यसका मुख्य दोषीलाई राजनीतिक संरक्षण गरिएको पनि आरोप लगाएका छन्।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै गत कात्तिक २ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछाने सुप्रिम सहकारीको रकम हिनामिनामा पनि संलग्न रहेको भन्दै बयानका लागि मंगलबार रूपन्देही ल्याइएको हो।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको अनुसन्धानबाट खुलेको छ।
विभिन्न सहकारीको बचत रकम गोर्खा मिडियामा लगानी गरेर अपचलन गरेको भन्दै संसदीय विशेष छानबिन समितिले लामिछाने र जोशीसहित गोर्खा मिडियाका अध्यक्ष जिबी राईलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो। राई फरार छन् भने लामिछाने र जोशीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।