जब महिला गर्भावस्थाको चौथो महिनामा प्रवेश गर्छिन्, उनको पहिलो त्रैमासिक समाप्त भई दोस्रो त्रैमासिक सुरु हुन्छ । पहिलो त्रैमासिक सकिएलगत्तै महिलाको दैनिकीमा प्रभाव पार्ने केही समस्याबाट राहत मिल्छ ।
जस्तो, बिहानपख हुने वाकवाक, खानेकुराको गन्ध आउने र रिङ्गटा लाग्ने जस्ता समस्या कम हुन्छ । यस्तो अवस्थामा महिलाहरू अलि ऊर्जावान् रहन्छन् । यो समस्या पहिलेको भन्दा पेटको आकार बढ्ने, दिमाग शान्त रहने र भोक तीव्र रुपमा बढ्छ ।
के कस्ता परिवर्तन यो महिनामा देखिन्छन् त ?
-के यो अवधिमा महिलाको पाठेघरको आकार र बच्चाको शरीरको आकार पनि थोरै बढ्छ। जस कारण पेट अलि ठुलो देखिन्छ ।
– हर्मोनल परिवर्तनका कारण छाती पोल्ने र अपचको समस्याले पाचन प्रणाली प्रभावित बन्न सक्छ ।
– बच्चाको विकास भइरहेको हुँदा पेटमा रातो, खैरो वा बैजनी धर्साहरु देखिन सुरु हुन्छ ।
– कुनै खानेकुराको तृष्णा अत्यधिक हुनसक्छ ।
– केही महिलाको मुटुको धड्कन तीव्र हुन्छ । कहिलेकाहीं रगतको कमीले पनि यस्तो हुनसक्छ ।
– गर्भावस्थाको समयमा पाठेघर बढ्दै जाँदा लिगामेन्टहरू फैलिन्छन् । यसले तल्लो पेटको दुखाइ निम्त्याउन सक्छ, जुन या त सुस्त वा तेज महसुस गर्न सक्छ ।
– पिसाब पहिलाको जस्तो पटक-पटक आइरहने हुँदैन ।
– पहिलो त्रैमासिकको भन्दा बढी निद्रा लाग्छ ।
यो पनि पढ्नुहोस
के गर्ने, जब गर्भ रहन्छ
बच्चाको विकास
– यो महिनाको अन्तिमसम्म बच्चा ४ देखि ५ इन्च बढ्छ । तौल लगभग ११० देखि १४० ग्रामको हुन्छ ।
– मांसपेशीको शक्ति बढ्नुका साथै प्रजनन् अंग, मस्तिष्क, हाडहरु विकसित हुन्छ ।
– आँखा र कान विकसित भइसकेको हुन्छ । यही महिनाबाट शिशुले गर्भ बाहिर आउने आवाज सुन्न सक्छन् । बच्चालाई सङ्गीत र सकारात्मक कुराहरू सुनाउने उपयुक्त समय हो ।
– बच्चाको हलचल महसुस हुन थाल्छ । जुन महिलाको लागि अविस्मरणीय हुन जान्छ ।
– हात र खुट्टाहरू मुट्ठी पार्ने र समात्ने जस्ता केही चालहरूमा पनि काम गरिरहेको छ ।
के कस्ता जाँच गराउने ?
यो महिनामा न्युरल ट्युब र नेजल बोन परीक्षण गरिन्छ । यी दुई परीक्षणले बच्चाको विकास कसरी भइरहेको छ ? कुनै डाउन सिन्ड्रोमको जोखिम कतिको छ भनेर देखाउँछ । अल्फा–फेटोप्रोटिन परीक्षण गरी स्नायु दोषहरू पत्ता लगाउन गरिन्छ ।
यो महिनामा टिटानसको खोप दिइन्छ । ताकि, टिटानस र लहरेखोकीबाट बच्न सकोस् ।
के खाने ?
गर्भावस्थामा सन्तुलित खानेकुरा खान सकिन्छ । जसमा फलफूल, हरियो सागपात, ड्राइफ्रुट्स, सम्पूर्ण अन्न, प्रोटिन, डेरी उत्पादन, माछा मासु खान सकिन्छ ।
यी सबै खानेकुरा कति खाने ? भन्ने कुरा चिकित्सकलाई सोध्नु उपयुक्त हुन्छ । फोलिक एसिडसँगै आइरन र क्याल्सियम पनि यो महिनाबाट सुरु गरिन्छ ।
के नखाने ?
– बजारिया खानेकुरा र कार्बन एसिड पेय सकेसम्म खानु हुँदैन ।
– जबर्जस्ती टन्न र एकदमै कम पनि खानु हुँदैन ।
– धुम्रपान र मदिरा सेवन गर्नु हुँदैन ।
– नपाकेको फलफूल खानु हुँदैन ।
– सागपात तथा मुला काँचै वा राम्रोसँग नपखाली खान हुँदैन ।
– समुन्द्री खानेकुरामा हानिकारक मर्क्युरीहरु हुने हुँदा खान हुँदैन ।
यो पनि पढ्नुहोस
गर्भावस्थाको तेस्रो महिना कस्तो हुन्छ ?
सावधानी
– बोलाएको बेलामा चिकित्सकलाई भेट्ने ।
– सरसफाइमा ध्यान दिने ।
– दैनिक पर्याप्त मात्रामा झोलिलो खानेकुरा र पानी पिउने ।
– मध्यम खालको व्यायाम गर्ने ।
– पर्याप्त आराम लिने र रातमा ८ घण्टा सुत्ने ।
– तनाव कम गर्ने वा सो व्यवस्थापन गर्ने तरिका खोज्ने ।
– विषाक्त पदार्थ जस्तै रसायनहरू, प्रदूषक तत्वबाट बच्ने र जथाभावी औषधि नखाने ।
– लामो दूरीको यात्रा सकेसम्म नगर्ने, छोटो दुरीको मोटरबाइकमा सडक अवरुद्ध भएको ठाउँमा यात्रा गर्नु हुँदैन ।