काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा संघीय सरकारले असहयोग गरेको बताएका छन्। काठमाडौँको फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित संघीय सरकारले असहयोग गरेको उनको आरोप छ।
मेयर बालेनले सामाजिक सञ्जालमा पोस्ट गर्दै काठमाडौंको फोहोर व्यवस्थापन गर्नुभन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउने गरी संघीय सरकारले असहयोग गरिरहेको बताएका हुन्। ‘हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो’, उनले भनेका छन्।
विवादित नेपवेस्ट कम्पनीलाई नै फोहोर व्यवस्थापनको जिम्मा दिएर काठमाडौंको फोहोरमा एकाधिकार लाद्ने र दिगो समाधान नहुने बाटो तोड्न आफूहरु क्रियाशील रहेको मेयर बालेनले बताएका छन्। आफूहरुले वैधानिक मापदण्ड अनुसार नै टेन्डर गर्दा पनि नेपवेस्टले मुद्दा हालेको र मुद्दाको फैसला काठमाडौंकै पक्षमा आएकोसमेत उनले बताएका छन्।
‘तर, सम्मानित अदालतले यो अधिकार काठमाण्डौ महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाण्डौको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ। फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौं,’ उनले भनेका छन्, ‘अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन्। तर हामी रोकिने छैनौँ।’
मेयर बालेनले काठमाडौँको फोहोरको दिगो समाधान सम्भव रहेको र त्यो काठमाडौँसीको अधिकारको कुरा भएको पनि उल्लेख गरेका छन्। ‘हामीले फोहोर थुपारेर बर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरे डाँडा लगायत स्थानका पिडितहरूको न्यायको कुरा हो। यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको विषय हो’, उनले भनेका छन्।