काठमाडौं । विश्व व्यापी रुपमा पाठेघर र स्तन क्यान्सरका बिरामीको संख्या बढ्दै गएको अवस्थामा नेपाल सरकारले विश्व क्यान्सर दिवसको अवसर पारेर आगामी २२ माघ देखि फागुन ६ गते सम्म (१५ दिन) पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै खोप सञ्चालन गर्ने मिति तोक्ने निर्णय गर्नुभएको हो । यो निर्णय संगै १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीले निशुल्क खोप पाउने छन् ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमले किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रीत हुने बताउँनुभयो ।
‘खोप अभियानका लागि १८ हजार ९ सय वटा विद्यालयमा केन्द्र तोकिएको छ । विद्यालय बाहेकका स्वास्थ्य संस्थाहरुमा पनि खोप चल्छ । थप ८ हजार २ सय वटा यस्ता केन्द्र तोकिएका छन्,’ उहाँले भन्नुभयो । डा. गौतमले खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १ सय ६० जना स्वयंसेवक, १५ हजार ६ सय ७४ जना सुपरीवेक्षक परिचालन गरिने बताउँनुभयो । यस्तै उहाँले अभियानका लागि १७ लाख ७० हजार २० डोज खोप तयारी अवस्थामा रहेको १७ हजार ८ सय ४३ वटा सेफ्टी बक्स प्रयोग हुने समेत जानकारी दिनुभयो ।
विभिन्न अनुसन्धानले बार्षिक करीव २ हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने गरेको छ । यस्तै एचपीभी खोप लगाउँदा एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पु¥याउँने पाइएको छ । मन्त्री पौडेलले एचपीभीको संक्रमणबाट बचाउँन र अकाल मृत्युबाट जोगाउन खोप अभियान सुरु गर्न लागिएको बताउँनुभयो । उहाँले भन्नुभयो, ‘हामीले धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौं, मन्त्री पौडेलले भन्नुभयो, किशोरावास्थामै खोप दिन सकिए धेरै ज्यान जोगाउन सकिन्छ भनेर अभियानकै रुपमा खोप थाल्ने निर्णय गरेका हौं ।’
त्यसो त सरकारले यो वर्ष अभियान सञ्चालन गरे पनि आगामी वर्ष देखि एचपीभीलाई नियमित खोप सूचीमा पार्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्नुहुन्छ, आगामी वर्षबाट सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको छ ।
नेपालमा एचपीभी खोप निशुल्क गर्ने भनेर राष्ट्रपतिबाट बाचन हुने सरकारको नीति तथा तीन पटक आइसकेको छ । पहिलो पटक आर्थिक वर्ष २०७६/०७७, दोस्रो पटक २०७९/०८० र तेस्रो पटक २०८०/०८१ को नीति तथा कार्यक्रममा यो खोप निःशुल्क आउँने जनाएपनि खोप उपलब्ध गराउँने दातृ निकायले नेपालको माग अनुरुप खोप उपलब्ध गराउँन सकेको अवस्था छैन । तर यो भने देशव्यापी अभियानका रुपमा पहिलो निर्णय गरिएको हो ।
‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा प्राप्त खोप सरकारले यसपटक १० देखि १४ वर्ष उमेर समूहका १६ लाख बढी किशोरीहरुलाई निशुल्क दिने तयारीमा छ । यसरी देशव्यापी रुपमा तोकिएको उमेर समूहका सबै किशोरीलाई दिन थालिएको पहिलो पटक हो । तर एचपीभी खोप सुरु गरेको पहिलो पटक भने होईन ।
सन् २००६ मा पहिलो पटक पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी सुरु गरेको नेपाल सरकारले त्यस यता कम्तिमा तीन पटक यस्ता ‘पाइलटिङ’ गरिसकेको छ । सन् २००६ देखि २०१३ सम्म १० जिल्लाका ३० हजार किशोरीहरुलाई पाइलटिङ भन्दै सरकारले पहिलो पटक एचपीभी खोप दिएको थियो । त्यसपछि सन् २०१५ मा स्वास्थ्य मन्त्रालयले पुनः पाइलटिङ भन्दै कास्की र चितवनमा यो खोप सुरु गरेको थियो ।
गतवर्ष सरकारले अघिल्लो आर्थिक वर्षको बजेटबाट खरीद गरेर ल्याएको २० हजार खोप गत भदौको अन्तिम साता देखि असोजको १० गतेसम्म सातै प्रदेशका सात ठूला अस्पतालमा लगेर १४ वर्षका किशोरीलाई दिएको थियो । तर त्यो बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानलाई ‘डेमोस्ट्रेसन’को रुपमा परिभाषित गरेको थियो । यसपटक भने खोप देशव्यापी रुपमा सुरु हुन लागेको हो ।
त्यस कारण पनि स्वास्थ्य मन्त्री पौडेलले गत महिना विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस लगायत अधिकारीहरुसँग नेपालले सञ्चालन गर्न लागेको खोप अभियानबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको थियो ।
एचपीभी खोपको आवश्यकता किन ?
पाटन अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. अरुण शाही किन आवश्यक छ भनेर प्रश्न गर्नु अघि एचपीभीबारे जान्न जरुरी रहेको बताउँनुहुन्छ् । उहाँ भन्नुहुन्छ्, ‘पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) लाई मानिएको छ ।
जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछ । एचपीभी भाइरसहरुको समूह हो । यो भाईरस १ सय ७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ । यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ ।
एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशत भन्दा बढी क्यान्सर गराउँछ । त्यसैले बालिकाहरुको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु पर्दछ भनिएको हो । विश्वका कतिपय मुलुकहरुले आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरिसकेका छन् । यो खोप सुरक्षित, प्रभावकारी र अर्थिक रुपले उपयुक्त छ भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ । यसको नकारात्मक असर देखिएको छैन । यो खोपले एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पु¥याउँछ ।
विश्व स्वास्थ्य संगठनले मान्यता दिएको एचपीभी खोपहरुमा अहिले सर्भरिक्स, गाडासिल, गाडासिल –९, र सिकोलिन ब्राण्डका चारवटा खोपहरु आएका छन् । स्मरण रहोस भविस्यमा लाग्न सक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन विश्वका १ सय १७ वटा देशले त्यसविरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा सूचीबद्ध गरिसकेका छन ।