बिराटनगर- यात्रुवहाक बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएपछि उग्ररुप लिएको सुनसरीको खनार बिहानबाट शान्त बनेको छ ।
आइतबार अपरान्ह इटहरीबाट विराटनगर जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले साइकलमा सवार १३ वर्षीया सम्झना यादवको मृत्यु भएपछि खनार अबेर रातिसम्म तनावग्रस्त बनेको थियो ।
अपरान्ह करिब सवा ४ बजे भएको दुर्घटनासँगै खनार करिब १० बजेसम्म अशान्त बन्यो । सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक रामप्रसाद तिमल्सिनाका अनुसार ठूलो संख्यामा रहेको आक्रोशित भीडले निरन्तर करिब ६ घण्टा ढुंगामुडा र आगजनी गरेको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज, अश्रुग्यास प्रहार र हवाई फायरसमेत गर्नु परेको थियो । प्रहरीले २० राउण्ड हवाई फायर र ३० सेल अश्रुग्यास प्रहार गरेको थियो । हाल राजमार्गको अवस्था सामान्य रहेको जनाउँदै प्रहरीले यातायात सेवा सुरु भएको जनाएको छ ।
घटनापछि सुनसरीको जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले प्रहरी निरिक्षक महेन्द्र पराजुलीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति समेत गठन गरेको छ । प्रहरीका अनुसार आक्रोशित भीडमा ढुंगामुढा लागेर प्रहरी उपरिक्षक सुमनकुमार तिमिल्सिना, सशस्त्र प्रहरीका उपरिक्षक समानन्द बज्राचार्यसहित २१ जना घाइते भएकाछन् ।
कक्षा ९ मा अध्ययनरत बालिका यादवको घटनास्थलमा मृत्यु भएपछि हुइँकिएको बसलाई आक्रोशित भीडले खनार चौक नजिक सुनसरी मोरङ सिचाइ योजनाको पुलमा आगो लगाएका थिए ।
त्यसपछि उग्र बनेको भीडले तनावग्रस्त बनेको खनारको स्थिति नियन्त्रणमा सशस्त्र प्रहरी, नेपाल प्रहरीको ठूलो टोली परिचालन भएको थियो । सुनसरी प्रहरीले आगलागीका क्रममा बसमा रहेका यात्रु निस्किएका थिए । सोही क्रममा प्रहरीले विराटनगर १३ का बसचालक अमित श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।